विषादीको प्रयोग बढ्यो, पाँच वर्षमा १३ अर्ब ३६ करोडको आयात



काठमाडौं : कृषिजन्य उत्पादनमा प्रयोग हुने विषादी पछिल्लो समय झनै बढेको छ । पाँच वर्षमा साँढे पचास मेट्रिक टन विषादी आयात भएको छ । 

जस वापत पाँच वर्षमा १३ अर्ब ३५ करोड ९५ लाख ८ हजार ७ सय ५५ रुपैयाँ बाहिरिएको छ । वार्षिक १० मेट्रिक टन विषादी आयात हुने गरेको बाली संरक्षण निर्देशनालय, विषादी पञ्जीकरण तथा व्यवस्थापन शाखाको तथ्यांक छ । 

शाखाका अनुसार हरेक वर्ष कृषिजन्य उत्पादनमा प्रयोग हुने विषादीको आयात बढ्दै गएको हो ।  किसानले छिटो लाभ लिने उद्देश्यले पछिल्लो समयमा धेरै विषादी प्रयोग गर्न थालेपछि आयात पनि बढदै गएको विषादी पञ्जीकरण तथा व्यववस्थापन शाखाका वरिष्ठ बाली संरक्षण अधिकृत परशुराम अधिकारीले बताए । 

उनले भने, ‘धेरैजसो किसानले विषादी प्रयोग कसरी गर्ने भन्ने नै थाहा नपाएर विषादी प्रयोग गरिरहेका छन् । किसानले कुन विषादी कुन बालीमा प्रयोग गर्ने थाहा नै नपाएर व्यापारीबाट विषादी लिएर प्रयोग गर्ने गरेको पाइएको छ ।’

जीवनाशक विषादी ऐन २०४८ र जीवनाशक विषादी नियमावली, २०५०  तयार भई १ साउन २०५१ सालदेखि नेपालमा विषादी प्रयोग गर्न थालिएको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्