जग्गा किर्ते आरोपमा पक्राउ परेका महन्थ धरौटीमा रिहा



जनकपुरधाम : जग्गा किर्ते आरोपमा पक्राउ परेका रत्नसागर मठका महन्थ बैकुण्ठ दास बैष्णव धरौटीमा रिहा भएका छन् । सरकारी कागज कीर्ते र ठगी मुद्दाका अभियुक्त बैष्णवलाई सोमबार जिल्ला अदालत धनुषाले १५ लाख धरौटी लिएर रिहा गर्न आदेश दिएको हो ।

उनीसँगै पक्राउ परेका सरकारी कागज कीर्ते र ठगी मुद्दाका अर्का अभियुक्त अशोक शर्मालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिइएको  छ । 

शर्मालाई जलेश्वर कारागार सोमबार नै पठाइएको हो । 

न्यायाधीश राजेश कट्वालको इजलासले धरौटीमा थुनामुक्त गर्न आदेश गरे लगत्तै बैकुण्ठका सहयोगीहरुले अदालतमा धरौटी वापतको रकम बुझाएका थिए ।

थुनामुक्त भएपछि महन्थ बैकुण्ठले अदालतको यो आदेशले सत्यको सधैँ जित हुने कुरा प्रमाणित गरेको प्रतिक्रिया दिए ।

जनकपुरधामको जनक हजारी विद्यापीठको २ बिघा ११ कट्ठा जग्गाको कागज कीर्ते गरी अशोक शर्माको नाममा मोही कायम गरेर बेचबिखन गरेको अभियोगमा गत मंसीर १९ गते काठमाडौं वागबजार बाट महन्थ बैकुण्ठलाई प्रहरीले गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाले महन्थ बैकुण्ठ विरुद्ध २ करोड बिगो र ३ वर्ष कैद माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्