राष्ट्रपतिका लागि हेलिप्याड बनाउन पत्राचार



काठमाडौं: सहरी विकास मन्त्रालयले महाराजगन्जस्थित प्रहरी प्रशिक्षण प्रतिष्ठानमा राष्ट्रपतिका लागि हेलिप्याड बनाउने प्रक्रिया सुरु गरेको छ । हेलिप्याड बनाउन आवश्यक सहयोग एवं समन्वयको आग्रह गर्दै प्रतिष्ठानलाई पत्र लेखेको छ ।

 

पहिलो चरणमा विस्तारित क्षेत्रको टोपोग्राफिक सर्भे गर्ने, त्यहाँ रहेका संरचनाको विवरण तयार तथा हेलिप्याड बनाउने स्थल पहिचान गरी डिजाइन गर्ने काममा सघाउन आग्रह गरेको हो । राष्ट्रपतिको कार्यालय र गृह मन्त्रालयलाई बोधार्थ दिइएको पत्रमा भनिएको छ, ‘परामर्शदाता कम्पनीलाई तोकिएका कार्य गर्न आवश्यक समन्वय एवं सहयोग गरिदिनू ।’

 

भदौ २१ को मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानलाई काभ्रेको बनेपामा सारेर राष्ट्रपति निवास र कार्यालय विस्तार गर्ने निर्णय लिएको थियो । सरकारले प्रतिष्ठानको जग्गामा नयाँ संरचना नबनाउन निर्देशन दिइसकेको छ ।

 

राष्ट्रपति कार्यालय तथा निवास क्षेत्र विस्तार गरी हेलिप्याड, नेपाल भ्रमणमा आउने विदेशी राष्ट्राध्यक्षका लागि राजकीय अतिथि गृह, स्टेट ब्यांकेट, विदेशी राष्ट्राध्यक्षलाई राष्ट्रपतिले स्वागत र बिदाइ गर्ने भवन, गारथ ग्रहणस्थल र राष्ट्रपतिको सुरक्षार्थ खटिने सेनाको ब्यारेकलगायत संरचना निर्माण गर्न सरकारले तयारी थालेको हो । मन्त्रालयले नयाँ बानेश्वरको कम्पास इन्जिनियरिङ कन्सल्टलाई निर्माण कार्यको परामर्शदाता तोकिसकेको छ ।

 

जेठ ९ गते सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव केदारबहादुर अधिकारीको नेतृत्वमा चार सदस्यीय कार्यदल गठन गरेर राष्ट्रपति कार्यालय सार्ने वा विस्तार गर्ने विषयमा अध्ययन गराएको थियो । सोही समितिको सिफारिसका आधारमा प्रहरी एकेडेमी सारेर राष्ट्रपति कार्यालय विस्तार गर्ने काम सुरु गरिएको कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्