भारतले मालदिभ्सलाई एक अर्ब ४० करोड डलर दिने



नयाँ दिल्ली: भारतले मालदिभ्सलाई एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग दिने भएको छ । मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको वार्तापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सहयोग दिने घोषणा गरेका हुन् ।

 

'निकट छिमेकीका नाताले दुई देशका जनताबीच मित्रवत सम्बन्ध र सांस्कृतिक समानता रहेको छ', भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्तापछि मालदिभ्सका राष्ट्रपति सोलिहले सञ्चारकर्मीसँग भने, 'घनिष्ट छिमेकीका हिसाबले दुई देशबीचको व्यापार प्रवर्द्धन सम्भव भएको छ । भारत माल्दिभ्सको निकट मित्रमात्रै नभएर एउटा विशाल व्यापारिक सहयोगी हो ।'

 

भेटवार्तामा दुई देशका अधिकारीबीच सामुद्रिक गस्ती, हवाई निरीक्षण र सूचनाको आदानप्रदानमार्फत दुबै देशको सुरक्षालाई मजबुत पार्ने सहमति भएको बताइएको छ । भारतले मालदिभ्सको विकासका लागि गरेको एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग बजेट, मुद्राको विनिमय व्यवस्थापन र ऋण गरी विभिन्न शीर्षकमा प्रदान गरिने, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बताए । दुई देशबीचको गहिरो सम्बन्ध विस्तारका लागि छलफल सफल भएको मोदीको भनाई थियो ।

 

'हामीले मालदिभ्ससँग बृहद् व्यापार सम्बन्ध चाहन्छौँ', भारतीय प्रधानमन्त्री मोदीले भने, 'भारतीय कम्पनीहरूका लागि बङ्गलादेशमा प्रशस्त अवसरहरू रहेका छन् । यो दुवै मुलुकका लागि फाइदाको बिषय हो ।''हाम्रा सुरक्षा चासोहरू अन्तरनिहित छन् । हामीले हाम्रा जन्मभूमिमा एक आपसमा हानिकारक हुने गतिविधिलाई प्रवेश दिने छैनौँ', मोदीले अगाडि भने ।

 

निर्वाचनपूर्व खासै चर्चामा नआएका ५४ वर्षीय सोलिह पूर्वराष्ट्रपति अब्दुल्लाह यमीनसँगको प्रतिस्पर्धामा अनपेक्षित रूपमा राष्ट्रपति निर्वाचित भएका थिए । यमीनलाई चीन निकटस्थ मानिन्थ्यो भने सोलिहलाई भारत र पश्चिमा मुलुकहरूको सहयोग रहेको छ । 

प्रतिक्रिया दिनुहोस्