सामुदायिक विद्यालयमा घट्दै विद्यार्थी



काठमाडौं : पछिल्ला वर्षमा सामुदायिक विद्यालयमा विद्यार्थी आकर्षण घट्दै गएको छ । महँगो शुल्क तिरेर पढ्नुपर्ने भए पनि निजी स्कुलमा भने विद्यार्थी बढिरहेका छन् । पछिल्लो पाँच वर्षमा सामुदायिक विद्यालयमा निरन्तर विद्यार्थी घटेको सरकारी तथ्यांक छ । तर निजी स्कुलको अवस्था भने ठीक विपरीत छ ।

शिक्षा मन्त्रालयको तथ्यांकअनुसार गत शैक्षिक वर्षमा सामुदायिक विद्यालयमा ६० लाख ६२ हजार आठ सय ३१ र संस्थागत विद्यालयमा १३ लाख २८ हजार ६ सय ९३ जना विद्यार्थी भर्ना भएका थिए । शैक्षिक सत्र २०७३ मा सामुदायिक विद्यालयमा ६१ लाख ६ हजार तीन सय ५७ जना विद्यार्थी भर्ना भएका थिए ।

यसअनुसार सामुदायिक विद्यालयमा एक वर्षमा ९७ हजार विद्यार्थी घटेका छन् । विद्यालय जाने उमेर पूरा भएर पनि भर्ना हुन नपाएका, भर्ना भएर पनि स्कुल छाडेकालगायत कारणले अझै पनि १३ लाख विद्यार्थी विद्यालयबाहिर छन् । यीमध्ये कक्षा १ मा भर्ना भएर १० सम्म पुग्दा मात्र १० लाखले विद्यालय छोड्ने गरेको सरकारी तथ्यांक छ ।

सरकारले सामुदायिक विद्यालयको शिक्षा उकास्ने उद्देश्यले हरेक वर्ष सबैभन्दा धेरै बजेट शिक्षामै खर्चिरहेको छ । स्कुलबाहिर रहेका विद्यार्थीलाई स्कुल ल्याउन थुपै्र कार्यक्रम पनि सञ्चालन गरिरहेको छ । तर यी सबै कार्यक्रम प्रभावकारी नबन्दा सरकारी लक्ष्य अधुरो छ ।

निजी विद्यालय सञ्चालक भने विद्यार्थीको उत्कृष्ट नतिजा, चुस्त स्कुल व्यवस्थापनलगायत कार्यक्रम ल्याएर अभिभावकलाई लोभ्याउँदै नयाँ विद्यार्थी भर्ना गराउन सफल भएका छन् ।

शैक्षिक सत्र २०७२ मा सामुदायिक विद्यालयमा ६२ लाख २४ हजार ९ सय १३ जना विद्यार्थी भर्ना भएका थिए । यही वर्ष संस्थागत विद्यालयमा कक्षा १ देखि १२ सम्म १२ लाख ५३ हजार तीन सय ३५ जना विद्यार्थी भर्ना भएका थिए ।

शैक्षिक सत्र २०७१ मा सामुदायिक विद्यालयमा ६२ लाख ९३ हजार एक सय १२ जना विद्यार्थी भर्ना भएका थिए । यही वर्ष संस्थागत विद्यालयमा १२ लाख ४९ हजार दुई सय ८१ जना विद्यार्थी भर्ना भएका थिए । शैक्षिक सत्र २०७० मा सामुदायिक विद्यालयमा ६४ लाख ४७ हजार ९५ जना विद्यार्थी भर्ना भएका थिए । यही वर्ष संस्थागत विद्यालयमा संस्थागत विद्यालयमा १२ लाख १८ हजार तीन सय ५३ जना विद्यार्थी भर्ना भएका थिए ।

पछिल्ला पाँच वर्षको तथ्यांक तुलना गर्दा सामुदायिक विद्यालयमा विद्यार्थी घट्दो क्रममा छ भने निजीप्रति विद्यार्थी आकर्षण बढिरहेको छ । सरकारी सुस्तताका कारण सामुदायिक विद्यालयप्रति विद्यार्थी आकर्षण बढाउन नसकिएको शिक्षाविद् एवं प्रा.डा. विद्यानाथ कोइरालाले बताए ।

पछिल्लो तथ्यांकअनुसार विद्यालय शिक्षामा सामुदायिक विद्यालयको हिस्सा ८३ दशमलव दुइ तथा निजी स्कुलको हिस्सा १६ दशमलव ८ प्रतिशत रहेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्