सुरक्षाको माग गर्दैै जनप्रतिनिधि गृहमन्त्री गुहार्दै



काठमाडौं : नगरपालिका कार्यालयमा प्रहरीकै अगाडी तोडफोड भएपछि असुरक्षित भएका निर्वाचित जनप्रतिनिधिले तोडफोड गर्नेलाई कारवाही र सुरक्षाको माग गर्दै गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

रौतहटको गरुडा नगरपालिकाका मेयर सियारामप्रसाद कुशवाहाले कार्यालयमा तोडफोड गर्नेलाई कारवाही गर्नुपर्ने माग गरे । काठमाडौंमा बिहिबार पत्रकार सम्मेलन गर्दै मेयर कुशवाहाले प्रहरीकै अगाडी कार्यालयमा तोडफोड गर्ने काम भएको बताए । एक भिडियो सार्वजनिक गर्दै उनले शान्ति सुरक्षाका लागि खटेका प्रहरीकै अगाडी कार्यालयमा तोडफोड हुनु दुखत भएको बताए ।

कार्यालयमा तोडफोड भएपछि कुशवाहाले गृहमन्त्री रामबहादुर थापालाई भेटेर सुरक्षाको माग गरेका छन् । साथै उनले तोडफोडमा संलग्नलाई कानून अनुसार कारवाही गर्नुपर्ने माग गरेका छन् । गृहमन्त्री थापाले घटनामा संलग्नलाई कारवाही गर्ने आश्वासन दिएका छन् ।

मेयर कुशवाहाले गृहमन्त्रीका साथै संघीय मामला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डितलाई पनि घटनाको भिडियोहरु देखाएर जानकारी गराएका गराएका छन् । जिल्लामा प्रहरीले निबेदन लिन नमानेपछि मेयर कुशवाहाले मन्त्रीलाई निबेदन दिदै सुरक्षाको माग गरेका हुन् ।

‘कस्तो बिडम्बना छ, स्थानीय तहका जनप्रतिनिधि र कार्यालय नै सुरक्षित छैनन्’ कुशवाहाले भने, ‘संघीय मामला मन्त्रीले फोन गर्दा गृहसचिव, रौतहका प्रजिअले फोन समेत उठाउँदैनन्, हामी कसरी जनताको काम गर्ने ?’

कार्यालय तोडफोड घटनामा संलग्नलाई कारवाहीको माग गर्दै उपमेयर नेतृत्वको अर्को टोली प्रदेश सरकारलाई भेटन जनकपुरधाम तर्फ पुगेको छ ।

यसरी भएको थियो घटना

१० असोजमा गरुडा नगरपालिका कार्यालयमा तोडफोड भएको थियो । गरुडा नगरपालिका शिक्षा समितिले शिक्षक सरुवा बिषयलाई शिक्षकले नै बिद्यार्थीलाई उक्साएर कार्यालयमा तोडफोड गराएको नगरपालिकाका मेयरको आरोप रहेको छ ।

घटनामा बिद्यार्थीका साथै अन्य ठाउँबाट समेत सरुवा गरिएका शिक्षकले ‘केटाहरु’ बोलाएर तोडफोड गराएका थिए ।
भसेढवा माविमा १५ बर्ष देखी कार्यरत प्रावि तहका शिक्षक राममंगल यादवलाई शिक्षा समितिले भसेढवाकै महिला प्राविमा प्राधानाध्यापक बनाएर सरुवा गर्यो । प्रावि तहका शिक्षक यादव भसेढवा माविमा प्रअ थिए ।

यस्तै जनता मावि कटहरीयाका प्रअ सचिन्द्र यादवलाई भसेढवा माविमा प्रअ बनाएर सरुवा गरिएको थियो । शिक्षक यादवद्धयले शिक्षा समितिको निर्णयबाट असन्तुष्ट हुदै बिद्यार्थीलाई उक्साएर तथा केही बाहिरबाट मान्छे बोलाएर नगरपालिका कार्यालयमा तोडफोड गराए ।

९ असोजमा शिक्षा समितिले गरेको निर्णय कार्यान्वयन नगर्ने भन्दै शिक्षक यादवद्धयले कटहरीया बजारमा नाराबाजी गराउँदै नगरपालिकाको कार्यालयमा तोडफोड गराए ।

घटनापछि नगर प्रमुख कुशवाहा नजिकैको प्रहरीमा उजुरी दिन पुगे तर, प्रहरीले आलटाल गरेर उजुरी लिनै मानेन । नगरप्रमुखले निकै जोड बल गरेपछि घटनामा संलग्न देखिएका ती दुई शिक्षकलाई प्रहरीले पक्राउ पक्राउँ गर्यो तर, २४ घण्टामै छोडिदियो । त्यो कुरा नगरप्रमुखलाई पनि जानकारी गराइएन ।

तोडफोड भइरहेको एउटा भिडियोमा ती शिक्षकहरु पनि देखिएका छन् । प्रहरीले भिडियो र फोटो खिचिरहेको दृश्य प्रष्ट छ ।

तोडफोड पश्चात नगरपालिका कार्यालयको बसेको बैठकले घटनाको छानविनका लागि वडा अध्यक्ष एवं नगरपालिकाका प्रवक्ता चन्दन कुश्वाहाको संयोजकत्वमा नौं सदस्यीय छानबिन समिति गठन भयो ।

समितिले शिक्षक यादवद्धयको संलग्नतामै तोडफोड घटना भएको निष्कर्ष निकाल्यो । छानबिन समितिले तोडफोड घटनामा ३० लाख ७८ हजार भन्दा बढीको भौतिक क्षति भएको, कागजपत्र सबै च्यातिएको प्रतिबेदन कार्यालयमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहोस्