धनश्याम भुसालको चुनौतिः ‘म ओलीबाट शासित हुन चाहन्न, सके कारबाही गर्नुस्’



काठमाडौं: नेकपा स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालको पार्टी र सरकार सञ्चालन कार्यशैलीमाथि व्यापक प्रश्न उठेको छ । यही शैलीले सरकार र पार्टी सञ्चालन भइरहे जनताले विश्वास गरेर दिएको ऐतिहासिक अवसर गुम्ने चेतावनी नेताहरूले दिएका छन् ।

 

पार्टी एकतापछि पहिलो पटक राजनीतिक र सांगठनिक विषयमा छलफल गर्न सुरु बैठकमा सदस्यहरूले नेतृत्वप्रति आक्रोशै आक्रोश पोखेका हुन् । अध्यक्षद्वयले पेस गरेको राजनीतिक प्रतिवेदन आफ्ना गल्ती ढाकछोप गर्ने प्रयोजनले मात्र आएको र यथार्थमा आधारित नभएको उनीहरूको आरोप छ ।

 

नेता घनश्याम भुसालले ओली सिद्धान्तबाट विचलित र विशुद्ध गुटबन्दीको शैलीमा अघि बढेको भन्दै सक्ने भए आफूलाई कारबाही गरेर देखाउन चुनौती दिए । ‘थुक, रगत, खकार, वीर्य टेस्ट गरेर मेरो गुटको हो कि होइन भनेर पार्टीभित्र छुट्याउनुहुन्छ, यसैगरी गुटबन्दी गरिराख्ने हो ?’ उनले भने, ‘तपाईं कसैको गुटको मात्र नेता हो भने म तपाईंलाई मान्दिनँ, म खड्ग ओलीबाट शासित हुन्न, निन्दा गर्छु । सक्नुहुन्छ भने मलाई कारबाही गर्नुहोस्।’

 

प्रदेश कमिटी, स्थानीय तहलगायत कमिटी बनाउँदा तीव्र गुटबन्दी गरेको उनको आरोप थियो । ओली र दाहालको प्रतिवेदनको पनि विरोध गरे । ‘सिद्धान्तलाई मान्नुहुन्न, बौद्धिकहरूलाई थला पार्छु भन्नुहुन्छ, बुद्धले कति पढेका थिए र भन्दै हिँड्नुहुन्छ,’ भुसालले भने, ‘तपाईंमाथि योग्यताको प्रश्न उठ्छ।’ दुवै नेताको प्रतिवेदन आत्मप्रशंसाले मात्र भरिएको कुनै सैद्धान्तिक राजनीतिक आधार नभएको उनको टिप्पणी थियो । अहिलेको समस्या, चुनौती र तिनको सामना गर्ने विधि समेटेर प्रतिवेदन आउनुपर्नेमा त्यसलाई छुँदै नछोएको उनले उल्लेख गरे।

 

नेताहरू युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्यले पार्टी संगठन भत्कँदै र कमजोर बन्दै गएको उल्लेख गर्दै यसमा नेतृत्व प्रमुख जिम्मेवार रहेको आरोप लगाए । एकता प्रक्रियामा दोहोरो तेहेरो मापदण्ड अपनाइएकोमा आपत्ति जनाए । सचिवालयका नाममा भइरहेका निर्णय गलत रहेको बताएका कान्तिपुरमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्