बैद्य र विप्लव माओवादीबीच छिट्टै एकता



दाङ : नेपाल कम्युनिस्ट पार्टी क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य ‘किरण’ले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको कम्युनिष्ट पार्टीसँग एकताको लागि छलफल गरिरहेको बताएका छन् ।

दाङको तुलसीपुरमा भएको साक्षात्कार कार्यक्रममा बैद्यले नेपालमा सच्चा कम्युनिष्ट पार्टी आवश्यक भएकोले त्यसको निर्माण अभियानमा आफू लागेको बताए ।

त्यसका लागि विप्लव, गोपाल किराँती, मोहनविक्रम लगायत नेतृत्वका कम्युनिष्ट पार्टीसँग छलफल भइरहेको उनले जानकारी दिए । छलफलको निष्कर्षमा छिट्टै पुगिने उनको दावी छ ।

‘कुराकानी भइरहेको छ, टुट्न सजिलो भए पनि एकता गर्न केही कठिनाइ हुँदो रहेछ,’ उनले भने, ‘तर एकपटक सच्चा कम्युनिस्टहरु एक हुन्छौँ भनेर लागेका छौँ ।’

पूर्वएमाले र माओवादी केन्द्रको एकता सत्ताका लागि मात्रै भएको उनको आरोप थियो । ‘यो एकता सत्ताका लागि मात्रै होे, कम्युनिस्ट एकता होइन,’ उनले भने ‘ लामो समय टिक्दैन ।’ 

सरकारले नौ महिनासम्म कुनै उदाहरणीय काम गर्न नसकेको भन्दै बैद्यले भारतले नेपालको सीमा मिच्दा पनि सरकारले केही पहल नथालेको गुनासो गरे । दुईतिहाइको बलियो सरकार निर्माण हुँदा पनि नौ महिनासम्म केही काम गर्न नसक्नु लाजमर्दो भएको उनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस्