सरकारले खसीबोकाको मुल्य नतोक्दा उपभोक्ता मारमा



काठमाडौं : सरकारले सोमबारदेखि बिक्री गर्न थालेको खसिबोका,च्यांग्रा किन्नेहरुको भिड लागेको छ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले थापाथलीमा बिक्री गरिरहेको खसिबोका किन्न घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता रहेको उपभोक्ताले बताएका छन्।

नागढुङगाबाट खसी किन्न आएका उत्तम अधिकारी लाइनमा कसेको २ घण्टा जति भएको बताउछन्।

उनी भन्छन्, ‘लाइन बसे पनि बाहिर भन्दा यहाँ एउटै खसीबोकामा १५ सयदेखि २ हजारसम्मको फरक रहेको छ। तर सरकारले थोरै मात्र बिक्री गर्छ। सरकारले बिक्री गर्न नसके पनि मुल्य तोकिदिए अलि राहत हुन्थयो ।

तर यहाँ त कम्पनि अनुसार फरक हुन्छ।’ उनको मात्र हैन त्यहाँ किन्न आउने अर्का उपभोक्ता सर्मिला मिश्र भन्छिन्, ‘सरकारले मुल्य तोक्ने हो भने यहाँ आएर हारालुछ गर्नु पर्ने अवसथा आउदैन थियो। बिहानै आइएन भने राम्रो जति बिक्री भैहाल्छ।

बाहिर त छोइसक्नु छैन। तौलिएर दिने हो भने अलि सहज हुन्थयो थोरै बेच्नेहरुले त मोलमोलाईमा दिन्छन्। अझ उपभोक्ता मारमा परिरहेका छन्।

कि त सरकारले दशैं जस्तो ठुला पर्वमा अलि धेरै बिक्री गरेपनि अलि सहज हुनेथियो।’ यसरी थापाथलिमा खसीबोका च्यांग्रा किन्न हारालुछ भएपनि कलंकीस्थित खसी बजारमा भने खासै भिड देखिदैन।

सरकारले बिक्री गरेको मुल्य भन्दा काठमाडौं चौपाया खरिद प्रालीले बिक्री गरेको खसी, बोका, च्यांग्राको मुल्य अलि बढि भएकोले पनि अलि कम बिक्री भएको प्रालीका अध्यक्ष जनककुमार खड्काले बताए।

उनी भन्छन्, सरकारले केहि सस्तोमा बेचेकोले उत्ता भिड लागेको हो यहाँ अब भोली पर्सिदेखि भिड बढ्न सुरु हुन्छ। सरकारले थोरै मात्र बिक्र गरिरहेको छ। दशैमा त सिधै उपभोक्ताले किन्ने हुन्। अहिले नै किनेर कहाँ राख्ने, के खान्दिने त्यो समस्याले पनि तत्काल किनेका छैनन्।

यस वर्ष जिउँदो च्याङ्ग्रा प्रतिकिलो ७८० मा बिक्री गरिरहेको ३५ वर्षदेखि व्यापार गरिरहेका व्यापारी धर्मलाल श्रेष्ठले बताए। आफैलाई अलि महंगो परेकोले यसपालि च्याङ्ग्राको मुल्य बढेको उनले बताए।

यता खसीबोकाको भने प्रजाति अनुसार प्रतिकेजी ५ सयदेखि ६५० सम्म रहेको प्रालीका अध्यक्ष खड्काले बताए।

सरकारे बिक्री गरिरहेको च्यांग्राको मुल्य प्रतिकिलो ७ सय ३० रुपैयाँ रहेको छ भने
खसीबोका ५५० मा बिक्री गररहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी सर्मिला न्यौपानेले बताइन्।

उनी भन्छिन्, ‘हामी खसीबोका च्यांग्रा गरेर जम्मा ३ हजार मात्र बिक्रि गर्ने छौं। बजारलाई कन्टोल गर्ने उपायको रुपमा हामीले यति बिक्र गरेका हौं। त्यसैले पनि भिड धेरै भएको हो।

उपभोक्ताको माग त धेरै छ। तर हामीले धेरै बिक्री गर्न सक्दैंनौ।’ एकैचोटि धेरै ल्याउदा हेर्चाहा गर्न समस्या हुनाले दिनमा एक लट मात्र ल्याएको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्