तेल चोरी गर्ने १२ ट्यांकरको पीडीओ रोक्का



काठमाडौं : नेपाल आयल निगम सञ्चालक समितिले पेट्रोलियम पदार्थ ढुवानी गर्ने १२ वटा ट्यांकरको प्रडक्ट डेलिभरी अर्डर (पिडिओ) रोक्का गर्ने निर्णय गरेको छ । 

इन्डियन आयल कर्पोरेसन (आइओसी)बाट निगमको विराटनगर डिपोमा डिजेल ल्याएको ट्यांकरबाट २५ सय लिटर डिजेल बीच बाटोबाट चोरी भएपछि उक्त ट्यांकरका सञ्चालक शुकदेव सिंहका १२ ट्यांकरलाई चार महिना पिडिओ नदिने निर्णय गरेको निगमले जनाएको छ । 

समितिले डिजेल चोरी भएको को १ ख ४९६५ नम्बर ट्यांकरको निगमसँगको करार समेत रद्द गर्ने सोमबार निर्णय गरेको हो । उक्त  ट्यांकरका चालक धर्मेन्द्र शाहलाई भविष्यमा इन्धन ट्यांकर गुडाउन अयोग्य ठहर गर्नेसमेत निर्णय गरेको छ । 

विराटनगरको डिपोमा इन्धन चोरी घटना गम्भीर प्रकृतिको भएकाले ट्यांकरको करार रद्द र चालकलाई भविष्यमा इन्धन ढुवानीमा अयोग्य हुने निर्णय भएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । 

‘एउटा ट्यांकरबाट तेल चोरी भए पनि सञ्चालकलाई जवाफदेही बनाउन चार महिनाका लागि अन्य ट्यांकरको पनि पिडिओ रोक्ने निर्णय भएको छ,’ भट्टराईले भने, ‘चालक अब इन्धन ढुवानीका लागि अयोग्य भएका छन् ।’  सिंहका १२ वटा ट्यांकरले चार महिना इन्धन ढुवानी गर्न पाउने छैनन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्