कोसी करिडोर प्रसारण लाइनमा धरान उपमहानगरको अवरोध



काठमाडौं : कोसी कोरिडोर २ सय २० केभी प्रसारण लाइन निर्माणमा धरान उपमहानगरपालिकाले अवरोध गरेको छ । निर्माणाधीन सो प्रसारण लाइनअन्तर्गत  धरान उपमहानगरपालिका–२० चिन्डेडाँडामा पर्ने ‘अलाइनमेन्ट’ परिवर्तन गर्न उपमहानगरपालिले विद्युत् प्राधिकरणलाई पत्राचार गरेको हो ।

त्यसलगत्तै एक समूहले कार्यस्थलमै गई २ वटा टावर निर्माणमा अवरोध गरेको नेपाल विद्युत् प्राधिकरणका आयोजना प्रमुख राजन ढकालले बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इपान) र ग्रिड युजर समूहले आयोजना गरेको एक अन्तरक्रियामा उनले स्थानीय सरकारको अवरोधबारे जानकारी दिएका हुन् ।

प्रसारण लाइन निर्माण गर्न जग्गा अधिग्रहण, मुआब्जा रकम वितरण, रूख कटानको स्वीकृति प्राप्ति, आवश्यक सामग्रीको आपूर्तिलगायतका काम भइसकेकाले  लाइनको अलाइनमेन्ट सार्न सम्भव नहुने प्राधिकरणको भनाइ छ । आयोजनाको अलाइनमेन्ट परिवर्तन गर्दा निर्माणमा २ वर्षसम्म ढिलो हुने निजी ऊर्जा प्रवर्द्धक र प्राधिकरणको भनाइ छ । 

तर, चिन्डेडाँडा क्षेत्रमा प्रशारण लाइन निर्माण गर्दा सो क्षेत्रमा निर्माण गर्ने भनिएका भ्यू टावर, प्याराग्लाइडिङ स्पट, केबलकार, ब्रिटिस गोर्खा मेमोरियल पार्क, कोकाहा खोलामा कृत्रिम ताललगायतका योजनामा असर पर्ने उपमहानगरपालिकाको भनाइ छ ।  प्रसारण लाइनले उपनगरको योजनामा कुनै कसर नगर्ने प्राधिकारणको जिकिर छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्