दशै : असत्यमाथि सत्यको विजय



बोधराज पौडेल
काठमाडौ । असत्यमाथि सत्यले विजय प्राप्ती गरेको चाडको रुपमा दशैंलाई मनाउने गरेको किम्बदन्तीहरु पाईन्छ । संस्कृत शब्द दशमीबाट प्राकृत भएर नेपाली भाषामा आएको तद्भव शब्द हो दशैँ । नेपालीहरुको सबैभन्दा ठूलो र महत्वपूर्ण चाडको रुपमा दशैं मनाउने गर्दै आएको पाईन्छ । आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन यो चाड धुमधामले मनाइन्छ । तर, यो परम्परा कहिलेदेखि मनाउन थालिएको होे यसको कुनै लेख्य ईतिहास पाइदैन ।

जे जसरी मनाउन शुरु गरेपनि दशैंलाई धेरै महत्वका साथ हिन्दुधर्ममा आस्था राख्नेहरुले मनाउने गरेको पाइन्छ । १५ दिनको यो उत्सव आफैमा रोचक र महत्वको रहेको छ । दशैं घटस्थापनाको दिनबाट सुरु भएर पूर्णिमासम्म रहन्छ । आश्विनशुक्ल पक्ष प्रतिपदाको दिन देखि नवरात्रि आरम्भ हुन्छ । यसै दिन झिसमिसे बिहानीमै आत्मशुद्धी पश्चात नदी, खोला, बगरबाट चोखो बालुवा वा पञ्चमाटो ल्याई दशैं घर वा पुजाकोठामा गहुँ जौ छरेर जमरा राखिन्छ । यसै दिनदेखि नवमीसम्म प्रत्येक नेपालीहरुका घरघरमा र देवीका मन्दिरहरुमा भगवती दुर्गाको पूर्जा, अराधना र प्रार्थना गरिन्छ ।

वेद, चण्डी, देवीभागवत र पुराणहरुमा नव दुर्गाका नौ वटा स्वरूप छन् भन्ने मानिएको छ । यी नौ दिनमा तिनै देवीको आराधना र उपासना गरिन्छ ।

या देवी सर्वभूतेषु शक्ति रुपेण संस्थिता
नमः तस्यै नमः तस्यै नमः तस्यै नमोनम

मन्त्र उच्चारण गर्दै आश्विन शुल्क प्रतिपदादेखि नवमीसम्म दुर्गा कवच वा स्तोत्र पाठ गरिन्छ । प्रतिपदामा शैलपुत्रीको पूजा गरिन्छ जसले ज्ञान बढ्नमा मद्दत गर्ने विश्वास रहेको छ ।

द्वितीयामा ब्रम्हचारिणी पूजा गरिन्छ । जसले चुम्बकीय शक्ति प्रदान गर्ने विश्वास गरिन्छ । तृतीयामा चन्द्रघण्टाको पूजा हुन्छ । जुन पूजा गर्नाले ध्वनि शक्ति बृद्धि हुने विश्वास रहेको छ ।

त्यसैगरी चतुर्थीमा कुष्मान्डा, पञ्चमीमा स्कन्दमाता, षष्ठीमा कात्यायनीको पुजा गरिन्छ ।
नवरात्रिको सातौं दिनलाई सप्तमी वा फुलपाती भनिन्छ । यस दिन दशैंको लागि पूजा सामग्री स्वरुप फूलपाती ल्याउने काम गरिन्छ । फूलपाती स्वरुप केरा, दारिम, धान, हलेदो, माने, कर्चुर, बेल, अशोक र जयन्ती यी नौ प्रकारका पातहरुलाई पुजी प्रत्येकको नौ नौका दरले दुर्गापूजा गरेको स्थानमा भित्र्याइन्छ ।

गोरखाबाट हनुमान ढोकामा रहेको फूलपाती घरमा पनि नेपाली सेनाद्वारा यसै दिन फूलपाती भित्र्याउने परम्परा रहि आएको छ । नवरात्रीको आठौं दिन महाअष्टमीमा महाकाली भद्रकालीको पुजा आराधना गरी विशेष पूजा आजा गरिन्छ । पूजा पश्चात बोका, कुखुरा, हाँस, रागो आदि बलि दिइन्छ । नवरात्रीको नवौ दिन महानवमीमा विशेष गरी महालक्ष्मी देवीको पूजा आजा गरिन्छ । यसै दिन बिहान कलपूर्जा, हातहतियारहरु तथा सवारी साधनहरु आदिलाई बलि दिई विश्वकर्माको पूजा गरिन्छ । दशमीमा मान्यजनबाट टिका र प्रसाद ग्रहण गर्ने चलन रहिआएको छ ।

टिका लगाइदिदा मान्यजनले –
आयु द्रोणसुते श्रीयम च दशरथे शत्रुक्षयं राघवे
ऐश्वयं नहुषे गतिश्च पवने मानञ्च दुर्योधने
दानं सुर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते
विज्ञानं विदुरे भवोति मवताम कीर्तिश्च नारायणे ।।

यो मन्त्रको उच्चारण गर्दै टिका लगाइदिने चलन रहेको छ । यो मन्त्रको अर्थ यस्तो रहेको पाईन्छ । अस्वस्थामाको जस्तो आयु होस, दशरथको जस्तो शत्रु पराजयको क्षमता होस् । नहुष राजाको जस्तो ऐश्वर्य, वायुको जस्तो गती, दुर्योधनको जस्तो मान, कर्ण जस्तो दानबीर, युधिष्ठिर जस्तो सत्यवादी, बिधुरको जस्तो ज्ञान, नारायणको जस्तो कीर्ति होस ।

दशैंको टिका दशमीको दिनबाट शुरु भएर पूर्णिमाका दिन सम्म लगाउने चलन छ । यस चाडमा वर्षै देखी भेटघाट हुन नसकेका आफ्न्त र नातेदारहरु टिका लगाउन आफ्न्तकोमा जान्छन् । खासमा दशैंको महत्व ठूला ब्यक्तिहरुलाई भन्दा बालवालिकालाई बढी हुने गर्छ । दशैंमा खेलिने पिङको आफ्नौ महत्व रहेको हुन्छ । टिकाको दिनमा टिका ग्रहण गरेपछि पिङ खेल्नाले स्वर्ग बाटो खुल्ने किम्बदन्तीहरु पनि रहेका छन् । औँजारको पुजा गर्नाले वर्षभरी घाटचोट नलाग्ने जस्ता प्रसंग पनि पाईन्छ । यसरी हेर्दा यो एक सौर्हादताको चाड हो भन्न सकिन्छ ।किम्वदन्ती अनुसार दशैंको महत्व
देवी पूराण अनुसार सत्य युगमा महिषासुर नाम गरेको दैत्य सम्राटले देवताहरूका राजा इन्द्रलाई युद्धमा जितेर स्वर्गमा राज्य गरे र देवताहरूमाथि आतंकपूर्ण शासन गर्न थाले । देवताहरू डराएर ब्रम्हाको शरणमा गए । ब्रम्हाको सल्लाह अनुसार बिष्णु सहित महादेवको शरणमा पुगे । सबै देवताहरूको छलफल पछि आफ्नो आफ्नो शक्तिपुंज निकाले । ती शक्ति पुञ्जहरू एकत्रित भई शक्तिस्वरुपा नवदुर्गा भगवतीको रुप धारण गर्यो । नवदुर्गा भगवतीले नवौं दिनसम्मको युद्ध पछि शन्ड मुन्ड र रक्तबिज सहित महिषासुरको बध गरे र दशौँ दिनमा विजय उत्सब मनाए । त्यो समय आश्विन शुक्ल प्रतिपदादेखि दशमी परेको थियो ।

अर्का थरि विद्वानहरुका अनुसार मानव शरीर नौवटा ढोका रहेको हुन्छ । जसलाई दूर्ग भन्ने गरिन्छ । नौवटा ढोका भएको दूर्ग अर्थात् नव द्वारको दूर्ग नवदुर्ग । यही नवदुर्ग शब्द कालान्तरमा नवदुर्गा भएको भन्ने कथन पनि पाइन्छ । ज्ञानरुपी दियो बालेर अन्धकाररुपी अज्ञानतालाई परास्त गरी आत्मा रुपी मन्दिर उज्यालो पार्ने र काम, क्रोध, लोभ, मोह, अहंकार जन्य रावण र महिषासुरको जस्तो दुर्गुणहरूको बलि दिएर भगवतीलाई खुशी पार्ने दिवशको रुपमा दशैं पर्वलाई मान्दै आएको पाइन्छ ।

ऋग्वेदमा उल्लेखित धेरै कुराहरू वर्तमान समयमा मेल खाएका छन् । र, ती विषयलाई प्रमाणित गर्नकालागि बैज्ञानिकहरूले विज्ञानसँग तुलना गरेर हेर्ने र अध्ययन अनुसन्धान गरिरहेका छन् । जुन बेला पौराणिक साहित्य लेखन आरम्भ भयो त्यो समय आजको जस्तो बैज्ञानिक सुबिधा नभएकोले र सनातन धर्मका ज्ञाताहरूले पुस्तामा आफ्नो ज्ञान हस्तान्तरण गर्ने प्रवृति न्यून रहेकोले सनातन शाश्वत सत्यहरूको प्रचार प्रसार हुन नसकेको प्रतित हुन्छ । हाम्रा वेद पूराण उपनिषद्हरुमा यी कुराको बारेमा चर्चा गरेको पाईन्छ ।

हिन्दुधर्मका हरेक कुरामा संस्कृति, धर्म, विज्ञानसँग जोडिएको हुन्छन् । प्रकृति माथिको विजयबाट यो आरम्भ भयो । पछि संयोगले दुर्गादेवीको विजय भयो । दानवहरु असत्य र देवताहरु सत्यको रक्षाका लागि लडेका थिए । आजभन्दा अढाई सय वर्ष अघि पृथ्वी नारायण शाह नेपाललाई एकीकृत गर्ने यात्रामा हिड्न लाग्दा विजयादशमीको साइतमा हिड्नु राम्रो हुन्छ भन्ने परम्परा बसिसकेकाले अर्को सन्दर्भ जोडिन आयो । उनलाई आमाले अक्षताको टिका लगाएर विदा गर्दा टिकाको सन्दर्भ जोडियो । भन्ने कथन पाइन्छ ।

रातो र सेतो टिका

नेपालमा दशैंमा रातो टिका लगाउने र सेतो टिका लगाउनेहरु छन । सेतो टिका लगाउने पक्षलाई एक थरीले राज्यसत्ताको विरोध र आफ्ना पूर्खा मारिएको शोकमा लगाएको तर्क गरेको पाइन्छ । एक थरी जातिले विवाहलगायतका शुभकार्यमा पनि सेतो टिका नै लगाउने प्रचलन छ । यस पक्षलाई हेर्दा दशैंसंग जोडिएका विरोधका कुराहरु भ्रमका खेती मात्रै हुन् भन्ने देखिन्छ । किन कि राज्यसत्ताको विरोध दशैंमा गरिएको मानिए पनि त्यसबाहेकका शुभकार्यमा पनि सेतै टिका लगाउनुको कारण कसैले प्रष्टाएका छैनन् । रातो टिका लगाउनेहरुले भने राक्षसलाई मारेर विजयोत्सव मनाएको प्रतिकको रुपमा मान्दछन् । यि दुवै तर्कमा केही दम भएपनि कुनै प्रमाणिक आधार भने छैन, दुवै पौराणीक र काल्पनिक कुरा हुन ।

दशैंको रातो र सेतो टिकाको सन्दर्भमा भने हाम्रो हिंसावादी समाज र अहिंसावादी समाजको प्रतिनिधित्व गरेको हुन सक्छ । दशैंमा एकथरीहरुले देवीदेवता र प्रकृतिको नाममा भोग दिएर त्यही भोग चढाएको जन्तुको रगतलाई निधारमा लगाउदै कालान्तरमा रातो टिकाले प्रतिनिधित्व गरेको हुन सक्छ ।

दिव्य उपदेशमा उल्लेख भएअनुसार पृथ्वीनारायण शाह देवी दर्शनका लागि सल्यानकोट गए, तर त्यहाँको चलन अनुसार उनले मन्दिर भित्र प्रवेश गर्न पाएनन् । मूल ढोकामै बसेर उनले देवीको पूजा आराधना गरे । त्यसको केही दिनपछि देवीले उनलाई सपनामा आएर दर्शन दिइन् र उनको दुवै हातमा खड्ग थमाइदिइन् । मन्दिरका मगर पूजारी र ज्योतिषले साँच्चै नै देवीले दर्शन दिएको पुष्टि गरेपछि पृथ्वीनारायणले एकीकरण अभियान सुरु गरेका थिए ।

मानवशास्त्री जोहना फाफ भन्छन् – राजा, रजौटा र ठालुले आफ्नो सांसारिक शासनसत्तालाई ईश्वरीय आशिर्वादसँग जोडेर कसरी वैधता दिने प्रयास गर्छन् भन्ने कुरा दिव्य उपदेशमा उल्लेखित उक्त घटनाले प्रष्ट पार्छ । उनका अनुसार देवी पूजा वा दशैंलाई राज्य विस्तारका क्रममा व्यापक बनाइयो ।

एकीकरणका क्रममा नयाँ स्थानमा देवी मन्दिर बनाउने, नयाँ ठालु वा शासकको नियुक्ति गर्ने र दशैंका समयमा राज्यको तर्फबाट ठालुहरू माझ गरिने अधिकार बाँडफाँडको निक्र्याैल जस्ता कुराले नेपाली राज्य एकीकरण प्रक्रियामा दशैंको केन्द्रीय भूमिका रहेको मानवशास्त्री फाफको दावी छ । यसको शुरुवात, परम्परा जे भएपनि दशैंले नेपालीहरुमा एउटा उत्साह प्रदान गरेको छ । यसै पर्वको अवसरमा टाढा रहेका आफ्न्त र इष्टमित्रहरुको भेटघाट हुने गर्दछ । यसरी हेर्दा दशैंलाई माया र सदभावको चाडको रुपमासमेत लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्