जोखिम बन्दै मोटरसाइकल यात्रा



चितवन : पूर्वी चितवनको रत्ननगर–१० मा शुक्रबार मोटरसाइकल दुर्घटना हुँदा राप्ती नगरपालिका–८ का अनिस तमाङको घटनास्थलमै मृत्यु भयो ।

चितवन जिल्ला ट्राफिक प्रहरीकार्यालयका अनुसार अनमोल तमाङ गम्भीर घाइते भए । बिहीबार राति साढे ११ बजे पूर्वी चितवनकै राप्ती–५ मा मोटरसाइकल दुर्घटना हुँदा सुदीप डल्लाकोटीको ज्यान गयो ।

शनिबार दिउँसो भरतपुरमा भएको मोटरसाइकल दुर्घटनमा परेर पछाडि बसेकी भरतपुर १२ की शारदा वाग्लेको निधन भयो । शनिबार मध्यरातमा गीतानगर वीरेन्द्रचोकमा स्कुटर पोलमा गएर ठोक्किँदा भरतपुर १४ का बुद्धिबहादुर विकले ज्यान गुमाए । 

लगभग तीन दिनभित्र लगातार भएका यी घटनाले मोटरसाइकल यात्रा असुरक्षित देखिएको छ ।

चितवन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतम भन्छन्, ‘साउनयता पाँच महिनाको विवरण हेर्दा मोटरसाइकलबाट ज्यान गुमाएकाहरू सबैभन्दा धेरै छन् ।’ 

पछिल्लो समय मोटरसाइकलको प्रयोग अत्याधिक बढेको छ । सडकमा लहरै मोटरसाइकल देखिन्छन् । तर चलाउने बेलामा सजग र सावधान नभई चलाउँदा दुर्घटना पनि बढेको गौतम बताउँछन् ।

प्रहरी निरीक्षक गौतमका अनुसार साउनयता मंसिरसम्म पाँच महिनामा चितवनमा भएका दुर्घटनामा ७४ जनाको निधन भएको छ । जसमा मोटरसाइकल चलाउने र त्यसमा बस्नेहरू सबैभन्दा धेरै २८ जना छन् । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्