तुलसी गिरीको निधनमा दलका नेता दुःखी



काठमाडौं: पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनप्रति प्रधानमन्त्री सहित बिभिन्न  राजनीतिक दलका नेताले दुःख प्रकट गरेका छन् ।

 

प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, नयाँ शक्तिका संयोजक  डा. बाबुराम भट्टराई लगायतले गिरीको निधनप्रति दुःख प्रकट गरेका छन् । उनीहरुले ट्वीटरमार्फत गिरीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको योगदानको स्मरण गरेका छन् ।

 

प्रधानमन्त्री ओलीले ट्वीट गर्दै भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तुलसी गिरीको निधन भएको खबरले मलाई दुःख लागेको छ । यस घडीमा स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार र आफन्तजनप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

 

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ट्वीट गर्दै भनेका छन्, ‘पूर्वप्रधानमन्त्री तुलसी गिरीजीको निधनको खबरले दुःखी भएको छु । स्वर्गीय गिरीप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

 

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले ट्वीट गर्दै लेखेका छन्, ‘पूर्वप्रधानमन्त्री डा. तुलसी गिरीको निधनमा वहाँप्रति हार्दिक श्रद्धाञ्जली र आफन्तजनमा गहिरो समवेदना । फरक राजनीतिक धारमा उभिए पनि वहाँ एक विशिष्ठ प्रतिभा हुनुहुन्थ्यो । संसार विपरीतहरुको एकत्व हो । विपरीत प्रवर्गको अस्तित्व स्वीकार्नु प्रवोधन हो । सबैले मनन् गरौं ।’

प्रतिक्रिया दिनुहोस्