मन्त्री साहले घोषणा गरे बालविवाह मुक्त वडा



राजविराज :बालविवाह र दहेजजस्ता सामाजिक कुरीतिप्रति पछिल्ला दिनहरूमा सामुदायिक अस्वीकारोक्ति बढ्दै गएको छ । बालविवाह निरुत्साहित गर्ने कानुनी प्रावधान व्यवहारमा लागू गर्न कठिन भइरहेका बेला यो परम्परा उन्मूलन गर्न समाजका विभिन्न क्षेत्रबाट प्रयास भइरहेका छन् ।

 

यसक्रममा राजविराज नगरपालिका वडा नं. ५ लाई बालविवाह मुक्त वडा घोषणा गरिएको छ । स्थानीय पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले यो वडालाई बालविवाह मुक्त वडा घोषणा गरे ।

 

मन्त्री साहले अभिशापका रूपमा रहेको बालविवाह अन्त्यका लागि वडा ५ ले गरेको प्रयास सराहनीय रहेको भन्दै यस्ता प्रयासबाट अन्य वडाले पनि सिक्नुपर्ने बताए ।  ५ सय ६० घरधुरी भएको यस वडामा गत आर्थिक वर्षमा ३० वटा विवाह भएको थियो ।

 

विवाह गर्नेको उमेर २० वर्ष लागू भएयता ५ वटा विवाह भएको छ । वैवाहिक सम्बन्ध जोडएकाहरूको उमेर कानुनसम्मत रहेकाले वडा ५ लाई बालविवाह मुक्त घोषणा गरिएको वडाध्यक्ष समीरकुमार झाले बताए ।

 

बालविवाह गर्नेले वडा कार्यालयबाट पाउने सेवासुविधा नपाउने व्यवस्था गरिएको छ । बालविवाह हुने परिवारका सदस्यलाई वृद्व तथा समाजिक सुरक्षा भत्ता र शैक्षिक छात्रवृत्ति समेत नदिइने वडाध्यक्ष झाले जनाए ।

 

“बाल विवाह, जिन्दगी तबाह” नाराका साथ सुरु भएको घोषणासभामा राजविराज नगरपालिकाकी उपप्रमुख साधना झा, प्रधानाध्यापक अरुणकुमार झा, सामुदायिक प्रहरी सेवा मञ्चका अध्यक्ष हितनारायण लाल दास, वडासदस्य पार्थो सरकार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रयाग यादवलगायतका व्यक्तिको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्