सरकार असफल भए व्यवस्था नै असफल हुन्छ : महासचिव पौडेल



बुटवल : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेललेको सरकार असफल भए व्यवस्था नै असफल हुने भएकोले यसतर्फ सबै सचेत हुनुपर्ने बताएका छन् । नेकपा रुपन्देहीको तिलोत्तमा नगर कमिटीले विजयादशमी, शुभदीपावली र छठ पर्वको अवसरमा आज मणिग्राममा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा महासचिव पौडेलले यस्तो बताएका हुन् ।
उनले कार्यक्रममा बोल्दै भने – अहिलेको सरकारलाई असफल हुने छुट छैन, नेकपा नेतृत्वको सरकार नै असफल भए मुलुकमा संवैधानिक संकट आउने र व्यवस्था नै असफल हुन्छ ।

‘सरकार असफल भए राष्ट्रकै जीवनमा एकसाथ अनेक संकट आउँने तथा संविधान र राजनीतिक दल पनि रहने कि नरहने भन्ने गंभीर प्रश्न सिर्जना हुने उनको भनाई थियो ।

सरकारले अहिले गरिरहेको काम कारवाही उत्साहजनक र सफलतातर्फ उन्मुख रहेको र स्थानीय, प्रदेश र संघीय तीनै तहका सरकारले आवधिक समीक्षा गरिरहेको र आगामी दिनमा सरकारलाई अझै प्रभावकारी ढंगले परिचालित गर्ने योजना पार्टीले बनाएको महासचिव पौडेलले बताए ।

कम्युनिस्ट पार्टीले प्राप्त गरेको सफलताले केही चुनौती र जिम्मेवारी पनि थपिएको भन्दै उनले सरकारले केही पनि गर्न सकेन भनेर गरिएको आलोचनाको कुनै अर्थ नरहने बताए ।

कार्यक्रममा नेकपा स्थायी समिति सदस्य छविलाल विश्वकर्मा, नेकपा तिलोत्तमा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंले आ–आफ्नो भनाई राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्