पूर्वसभामुख महरालाई पक्राउको तयारी



काठमाडौ : भिभिआईपी यौन काण्डका रुपमा चर्चित महरा–शाही प्रकरणले नयाँ–नयाँ रुप र नयाँ–नयाँ मोड लिदैछ । यस प्रकरण राष्ट्रिय मात्र होईन अन्तराष्ट्रिय रुपमै चर्चामा पुगेपछि सत्तारुढ दल नेकपा अप्ठ्यारोमा परेको छ ।

पार्टीसँगै पार्टीका अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) पनि यो काण्डले गर्दा असहजतामा परेका छन् । महरा प्रकरणलाई लिएर अध्यक्षद्धयबीच के गर्ने भन्ने विषयमा एकमत हुन सकेको छैन । उच्च श्रोतका अनुसार प्रधानमन्त्री ओली यो काण्डलाई रापसाफ गर्ने पक्षमा छन् भने अध्यक्ष प्रचण्ड रफादफा गर्ने पक्षमा छन् ।

महरा प्रकरणको बाछिटाले पार्टीलाई लिछिप्पै भिजाएपछि कारबाही गर्ने पक्षमा देखिएका प्रधानमन्त्री ओलीलाई यससन्दर्भमा गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादल र पार्टी प्रबक्ता रहेका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठदेखि नेता बामदेव गौतमसम्मले साथ दिईरहेका छन् भने अध्यक्ष प्रचण्ड साप पनि मर्ने लठ्ठी पनि नभाँचिने सूत्र प्रयोग गर्ने ध्याउन्नमा छन् ।

तर प्रचण्डको सोचलाई पार्टीभित्रका पूर्वमाओवादी नेताहरु गृहमन्त्री बादल,प्रवक्ता श्रेष्ठ, मन्त्री वर्षमान पुन,मन्त्री शक्तिबहादुर बस्नेत लगायतका नेताहरु समेतले सकारात्मक ढंगले नलिएपछि संकटमा परेका छन् ।

गृहमन्त्री बादलले प्रचलित ऐन,नियम र कानुन सम्मत ढंगले प्रहरीले यो विषयमा आवश्यक काम गर्न निर्देशन दिईसकेका कारण महरा प्रकरण झन पेचिलो बन्दै गएको छ । सरकारसँग खटपटपूर्ण व्यवहार अनुभूति गर्दै आएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रधानमन्त्री र गृहमन्त्रीको चाहनाअनुरुप काम गरेर देखाई सम्बन्ध सुधार गर्ने योजनामा देखिन्छन् ।

यो अवसरलाई खनालले उपयोग गरेर नाम कमाउनका साथै सरकारसँगको सम्बन्ध सुधार्नेगरी अगाडी बढ्ने तयारीमा छन् । पार्टीभित्रका केही पूर्वमाओवादी नेताहरु महराको उदयलाई निको ठानीरहेका थिएनन् । त्यसैले यो प्रकरणमा महरालाई कारबाही गर्ने सन्दर्भमा खुट्टा नकमाउन अध्यक्ष प्रचण्डमाथि दबाब दिईरहेका छन् ।

उच्च श्रोतका अनुसार प्रचलित ऐन, कानुन बमोजिम महरामाथि विशेष निगरानी राखेको प्रहरीले महरालाई पक्राउ गर्न माथिको आदेश पर्खेर बसेको छ । श्रोतका अनुसार प्रधानमन्त्री ओलीले यस विषयमा अध्यक्ष प्रचण्ड सहित सचिवालय सदस्यहरुसँग आवश्यक परामर्श गरिसकेको छन् । प्रधानमन्त्री ओलीले यस विषयमा गृहमन्त्री वादल, कानुनमन्त्री भानुभक्त ढकाल,गृहसचिव प्रेमकुमार राई,प्रहरी महानिरीक्षक खनाल,महान्यायाधिवक्ता अग्नि खरेल लगायतका व्यक्तिहरुसँग गरेको छलफलपछि गृहमन्त्री वादललाई नियम कानुन बमोजिम गर्नु भनेर निर्देशन दिईसकेको उच्च श्रोतले बताएको छ ।

यसपछि गृहमन्त्री वादलले उच्च अधिकारीहरुसँग छलफल गरिरहेका छन् । उच्च श्रोतका अनुसार आवश्यक प्रमाण जुटाई पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्ने अन्तिम तयारी भईरहेको छ । गृह श्रोतले दशै अगावै पक्राउ गर्ने कि दशैपछि गर्ने भन्ने अहिलेसम्म टुङ्गो नलागेको बताएको छ । अन्तराष्ट्रियकरण भएको महरा प्रकरणमा महरालाई कारबाही गरेर पार्टीको साख बचाउने योजनामा सरकार लागेको बताईन्छ ।( फोटो सौजन्य)

प्रतिक्रिया दिनुहोस्