दशैं संवादमा राजपा नेता अनिलकुमार झा



काठमाडौ : आठ कक्षा पढ्दादेखि नै दशैंमा चण्डीपाठ गर्दै आएका राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका पूर्व संयोजक अनिलकुमार झा अहिले पनि नवरात्र शुरुसँगै चण्डीपाठ गर्छन ।
मधेसी जनताका हक र अधिकारका निम्ति शुरुमा आवाज उठाउँदै आन्दोलन गरेका गजेन्द्रनारायण सिंहका अनुयायी झाले मधेसी नेताहरुबीच योग्य,सक्षम र कर्मशील नेताका रुपमा पहिचान बनाएका छन् । पिता प्रेमनारायण झा र माता आनन्ददेवी झाका माईलो सन्तानका रुपमा जन्मेका झा सानैदेखि जुझारु स्वभावका थिए ।

गजेन्द्रनारायणका असल शिष्यका रुपमा मधेसमा उदाउदै नम्र स्वभाव,कूटिल राजनीति र सुदूर भविष्य बोकेका नेताका रुपमा सन्देश दिन सफल भएका झा अहिले राजपामा आशा लाग्दा नेताका रुपमा गनिन्छन् । ५ दिदी र एक बहिनी, एक दाजुर र एक भाईका बीचमा माईलो झाको जन्म २०२५ चैत्रमा भएको हो ।

सन्तानका रुपमा एक छोराका पिता झाकी श्रीमति डिम्पल झा हाल प्रदेश नम्बर २ को मन्त्री छन् । उनै झासँगै द नेपाल टप डट कमले गरेको दशैं संवाद

दशैंको कार्यतालिका

अहिले दैनिक रुपमा दशैंमा गर्नुपर्ने विहानमा नित्यकर्मसँगै खानपिनपछि दिउसो गाउँ डुलिन्छ । गाउँमा कार्यकर्तासँग भेटघाट हुन्छ र राजनीति गफगाफ हुन्छ । यसरी नै दिन बित्छ । विहान पुजापाथ गरिसकेपछि दिउसो गाउमा घुमेपछि घर आएर खाना खाएपछि राष्ट्रिय, अन्तराष्ट्रिय खबर हेरेपछि सुतिन्छ ।

यो पालिको दशैं

विगतमा जस्तै यो पालिको दशैं पुजाआजा गरेर मनाईन्छ । बिहान पुजा गरिन्छ । दिउसो पार्टीका साथीहरुसँग भेटघाट हुन्छ । बेलुका साथीहरु बोलाएर गफगाफ हुन्छ । हाम्रो गाउँमा सबैभन्दा ठूलो मुर्ती पुजा हुन्छ । मलाई लाग्दछ की देशभर जतिबेला २–४ वटा दुर्गामाताको मुर्ति पुजा हुन्थ्यो त्यसबेला यहाँ पनि हुन्थ्यो । त्यसैले हाम्रो गाउँ रौतहटको मतसरियामा रहेको दुर्गामाताको मुर्ति पुजा एउटा शक्तिपिठका रुपमा रहँदै आएको छ । जहाँ फूलपातिको अघिल्लो दिनदेखि शु्रु भएर एकादशीसम्म महाकुम्भ मेला लाग्ने गर्दछ ।

यो पुजा गरिसकेपछि पुर्णिमाको अर्को दिन मुर्ति सेलाईन्छ । त्यासो त वर्षैभरी प्रत्येक दिन यो मन्दिरमा पुजा आरती गरिन्छ ।

हजारौ मान्छे यहाँ आउने गर्छन । म चाहि शुरुशुरुमा नवरात्रमा फलहार बसेपनि पछिल्ला दिनमा गाउँघर डुल्नुपर्ने हुँदा त्यसलाई निरन्तरता दिन सकेको छैन । तर श्रीमतिजीले भने नौ दिन नै फलहार खाएर बस्छिन ।

विवाहको पहिलो दशैं

हाम्रो संस्कारमा विवाहको पहिलो दशैंको काजाग्रत पुर्णिमामा भोज गर्ने चलन छ । त्यसअनुरुप मेरो विवाह भएको वर्ष २०५२ सालको दशैंको पुर्णिमामा सोही बमोजिम भयो । तर विवाह गरेको वर्षको दशैंमा श्रीमति नहुँदा निकै खललो लाग्यो । किनकी विवाह गरेको पहिलो वर्ष बुहारी अर्थात नवविवाहित श्रीमति घरमा बस्ने प्रचलन हाम्रोमा छैन ।

विवाह गरेको दोस्रो वर्ष श्रीमतिले दिदिबहिनीहरुसँग किनमेल र उनीहरुलाई चाहिने सामग्री किनिदिने परम्परा नै छ । दशैंमा हाम्रो परम्परामा बुहारीलाई माईत पठाईदैन तर छोरीचेलीलाई भने अनिवार्य बोलाउने चलन छ ।

त्यसबेला दिदिबहिनीलाई चुरा रिवन लगायतका सामग्री नयाँ बुहारीले किनिदिने प्रचलन छ । एउटा हाम्रो ठाउँमा प्रचलन छ । मेलामा पुरुष र महिलाका निम्ति छुट्टा छुट्टै स्थान तोकिएको हुन्छ । महिला भएको ठाउँ पुरुषजान पाउदैनन् । पुरुष भएको ठाउँ महिला जान पाउदैनन् । त्यसैले विवाह गरेको दोस्रो वर्ष म पनि श्रीमतिजीलाई उनले ईच्छाएको चिज वस्तु किनिदिन चाहन्थे तर प्राविधिक हिसावले त्यो पाँईन । म त्यसबेला श्रीमतिजी आउने गेट कुरेर बसे । यो कुरा अहिले पनि मलाई खड्किरहने विषय हो ।

ऊ बेलाको दशैं

म सानो हुँदा दशैं मनाएको सम्झन्छु , निकै रमाईलो । अहिले के रमाईलो हुन्छ र ? त्यो वेला सम्झँदा । मलाई अहिले पनि याद छ बाबाले दिने चारआना, आठ आनाले नजिकैको पसलमा गएर फुलौना (केटाकेटीको खेलौना) किनेर घरतिर फर्कदा बिचमा फुट्दा निकै नरमाईलो हुन्थ्यो तर नफुटाई घरमा आईयो भने यस्तो मज्जा आउथ्यो कि भने साध्य छैन ।

त्यस्तै कुमारी र बटुकभैरभको भोजनको बेला खाएको खीर अहिले पनि सम्झदा निकै रोमाञ्चक हुन्छु । त्यसबेला कतिबेला खीर खान पाईन्छ भनेर पर्खदा–पर्खदा वैदान्तिक फुलका पातहरु नै सुक्थे । किनकी पुजा सकिएपछि मात्र हामीलाई खीर दिईन्थ्यो ।

त्यसो त म अहिल जान्ने भएपछि दशैंका बेला नाच र नाटक पनि गरिन्थ्यो । त्यसबेला गब्बरसिंह र महाराणा प्रतापका विषयमा नाटक देखाउने चलन थियो ।

मैले त्यसवेला व्यवस्थाको बदल डालो अर्थात व्यवस्था बदलौ भन्ने नाटक लेखेर खेल्ने निधो भयो तर पञ्चायतकाल भएको हुनाले भैंकर लफडा भयो । त्यसपछि सिडियो एसपी आएर मलाई दबाब दिन थाले । गाउँका सबै मिलेर एउटा सम्झौता भयो । त्यससँगै व्यवस्था बदल डालोको ठाउँमा समाज बदलडालो भनेर नाटक देखाउने सहमति भयो ।

हाम्रो गाउँको दुर्गा माताको पुजाआजा र मेलामा एउटा राम्रो पक्ष के छ भने यस भेगको सबैभन्दा ठूलो मेलामा कुनै प्रहरी परिचालन हुँदैन । गाउँकै स्वयम्सेवकले व्यवस्थापन गर्छन ।
जहाँ महिला र पुरुष बस्नका लागि छुुट्टाछुट्टै ठाउा तोकिन्छ । महिला भएतिर पुरुष जान पाउदैनन्, पुरुष भएतिर महिला जान पाउदैनन् ।

मन पर्ने विषय

मलाई नेताहरुमध्ये सबैभन्दा प्रिय र आदरयोग्य नेता गजेन्द्र नारयाण सिंह हुनुनहुन्छ । जसको आलोकमा म हिडिरहेको छु । उहँ बाहेक विपि कोईराला र मदन भण्डारी मलाई मन पर्ने नेता हुन । सानोमा नयाँ कपडा पाउँदा खुसी हुने म अहिले जिम्मेवारीले लगाउने कपडा र खानामा दशैंमा त्यस्तो महत्व छैन ।

तर खानामा मलाई नेपाली खाना, कालो दाल र साग मन पर्छ । पोसाकमा सेतो कुर्ता पाईजामा र कालो स्टकोट तथा चुच्चो निस्केको कालो जुत्ता मेरो मन पर्ने पोसाक हो । त्यस्तै गला बन्द भएको कोर्ट पाईन्ट पनि मेरो च्वाईसको पोसाक हो । मलाई सबैभन्दा मन पर्ने ठाउँ चितवन र ईलाम हो । त्यस्तै मन पर्ने फिल्ममा सन्तान हो भने पुस्तकमा महाभारत मन पर्छ ।

प्रतिक्रिया दिनुहोस्