पर्सामा तस्कर र प्रहरीबीच झडप : चार प्रहरी घाइते



तेल तस्करकाे आक्रमणमा घाइते भएका प्रहरी 

वीरगन्ज : पर्सामा मंगलबार तस्करको आक्रमणबाट चार प्रहरी घाइते भएका छन् । जगरनाथपुर गाउपालिका १ पाडेपुरमा बिहान तेल तस्करले प्रहरीमाथि आक्रमण गरेका थिए । 

नेपालबाट भारतमा डिजेल पेट्रोल तस्करी गर्ने गिरोहको आक्रमणबाट घाइते हुनेमा प्रहरी चौकी पाडेपुरका असई विष्णुदेव यादव, हवल्दार प्रेमबहादुर राना, जवान अर्जुन चौधरी र प्रहरी चौकी पिडारीगुठीका असई जयकिसुन महतो छन् ।

 

तीमध्ये टाउकोमा गम्भीर चोट लागेका प्रहरी जवान चौधरीको अवस्था भने चिन्ताजनक छ । उनको वीरगन्जको एसएल न्युरो एण्ड जनरल अस्पतालको सघनकक्षमा उपचार भइरहेको छ ।

 

अन्य तीन जनाको भने वीरगन्जको नेसनल मेडिकल कजेलमा उपचार भइरहेको छ । घाइते असईद्वय यादव र महतोको टाउकोमा चोट लागेको छ भने प्रहरी जवान रानाको दाँहिने हात भाँच्चिएको छ ।

 

बिहान करिब ३ बजेतिर दुई वटा मोटरसाइकलमा डिजेल लोड गरी सीमावर्ती भारतीय बजार इनर्वामा जाँदै गरेका तस्करलाई पिडारीगुठी प्रहरी चौकीले नियन्त्रणमा लिएको थियो ।

 

तस्करलाई पक्राउ गरी चौकीतर्फ ल्याउने क्रममा तस्करले नै प्रहरीलाई घेरेपछि पिडारीगुठीका असई महतोले थप मद्दत मागेपछि घटनास्थल पुग्नासाथ ६०—७० जनाको संख्यामा रहेका तस्करले आक्रमण गरेका पाडेपुर चौकीका अुसई यादवले बताए ।

 

उनले भने, ‘हामीले रोक्न खोज्दा तस्करका मुख्य नाइके हसमोद्दिन र उनका छोरालगायतले आफूमाथि आक्रमण ग¥यो, टाउको फुटी रगत निस्कन थालेपछि उनी भागे ।’ एसपी रेवती ढकाललाई घटनाबारे जानकारी गराइएको र प्रहरी टोली घटनास्थल गएका थिए ।

 

पँडेपुर र सीमावर्ती भारतीय गाउका तेल तस्करहरुले प्रहरीको साथबाट थ्री नट थ्री राइफल पनि खोसेर भागेका थिए । तर, उक्त राइफल घटनास्थल नजिकैको खेतमा फेला परेको छ ।

  

डीएसपी मानबहादुर राईका अनुसार घटनामा नेपाल र भारत दुवै तर्फका अपराधी संलग्न रहेका छन् । उनीहरूको व्यापक रूपले खोजी भइरहेको छ । घटनास्थलमा बिहानैदेखि डीएसपी राईको नेतृत्वमा व्यापक प्रहरी परिचालन गरिएको एसपी ढकालले जानकारी दिए ।  

 

भारतमा  पेट्रोल र डिजेलको मूल्य नेपालको भन्दा महँगो भएका कारण तस्करहरूले सीमावर्ती पर्साका गाउँमा रहेका पेट्रोल पम्पबाट किनेर भारतीय बजारसम्म पु¥याउने गरेका छन् । 

 

प्रतिक्रिया दिनुहोस्