लिलामे माइलोको प्रदर्शन जारी 



मौलिक र गाउँठाउँको स्वाद दिने कथावस्तुमा जब दर्शकले आफ्नो परिवेश अनुभूत गर्छन् अनिमात्र कुनै सिर्जनाले व्यक्तिको मनमा आकार पाउँछ । यस्तै एउटा सिर्जना हो ‘लिलामे माइलो’जसले नाटकका रूपमा दर्शकको मनमस्तिष्कमा अपनत्वको भाव उत्पन्न गराउँछ । 

 

प्रदर्शनको अन्तिम सातामा प्रवेश गरेको यो नाटक राजधानीको थापागाउँस्थित कुञ्ज थिएटरमा बुधबारबाहेक हरेक दिन बेलुका ४.३० बाट प्रदर्शन भइरहेको छ ।  नाटक मंसिर १४ बाट सुरु भएको हो । शनिबार र सार्वजनिक बिदाका दिन अपराह्न १ बजेबाट सुरु हुने यो नाटक पुस ७ सम्म प्रदर्शन हुनेछ । 

 

राजधानीको नाटकघरहरूमा रिमेक नाटक प्रदर्शन गर्ने दौर चलिरहँदा लिलामे माइलो नितान्त मौलिक कथामा आधारित र रैथाने सन्देश पस्किरहेको दाबी नाटकका कार्यकारी निर्देशक राजाराम गौतमको छ ।  

 

‘नाटकमा नयाँ प्रयोग भएका छन्, जसले नाटकघर पस्नेबित्तिकै दर्शकलाई रोमाञ्चक यथार्थ अनुभव गराउँछ,’ गौतमले भने, ‘मगर समुदायको जीवनशैली प्रतिबिम्बित हुने नाटकमा पात्र र परिवेशबीचको समन्वयमा सतर्कता अपनाइएको छ ।’ 

 

पारिवारिक ड्रामा समाजइतर हुन सक्दैन । सामाजिक जीवनको चित्र परिवारभित्रकै गतिविधिबाट विकसित भएको हुन्छ । लिलामे माइलो पनि गाउँघरको कथा भन्ने परिवारको तस्बिर हो । जहाँ शब्द तथा अनुहारसँगै रंगमञ्चीय सीप र प्रविधिको संयोजनबाट उम्दा तथा दुरुस्त दृश्य खेलिरहन्छन् । यस्ता दृश्यको प्रभाव रंगमञ्चमा मात्रै होइन, दर्शकदीर्घामा बसेका नाटकप्रेमीको सोचमा परिलक्षित भइरहन्छ । ‘ग्रामीण भेगको रहनसहन, संस्कृति र चाडपर्वमा रंगिएको जीवन नै लिलामे माइलो हो,’ कार्यकारी निर्माता गौतमले भने । 

 

नाटकको परिवेश मोरङको पर्यटकीय क्षेत्र लेटाङआसपास हो । काठमाडौंमा प्रदर्शन भइरहेको लेटाङको मगर कथालाई जीवन्त बनाउन कलाकारहरूले लेटाङबस्तीमा एक सातासम्म डुलडाल गरे । मगर कायाभित्रका केस्राहरू केलाए, रंगढंग गमे । आफ्नो जिब्रामा बोलीचाली भित्र्याए । उनको पहिरनमा आफूलाई ढाले । अर्थात् फरक जातीय पृष्ठभूमिका कलाकार मगरबस्तीका जीवन व्यतीत गर्ने पात्र बने ।     

 

कुञ्ज नाटकघरको प्रस्तुति तथा गौतमको निर्माणमा बनेको नाटकका कथा÷निर्देशक प्रभाकर न्यौपाने, नाट्य रूपान्तरण राज थापा काउचा र कलाकारहरूमा सलमान खान गुरु, निशा पाख्रिन (प्याकुली), राजन भुजेल (दुधे), पुष्पराज अवस्थी (जिम्वाल), विजय नेपाल (सानकाजी), वीरेन्द्र खाती, अलविना न्यौपाने (चन्द्रा), मनोज थापामगर (कान्छा), सञ्जीव राई (गाउँले), नमस्ते दिवाकर घिमिरे (सोमे), विपना थापा (जुनु, वीरेन्द्र खाती, शिलाराना मगर, सचिन मल्ल (धरापे, संगीता थापा, सुनिल मगर (झप्ते), ललित मगर (लोके), चक्र विष्ट (गाउँले), पारुहांग राई (वनकाँडे) छन् ।

 

सामाजिक उत्तरदायित्व निर्वाह गर्ने क्रममा मंसिर १२ गते काठमाडौंका सुकुमवासी बस्तीका बालबालिकालाई नाटक देखाइएको थियो भने मंसिर १३ मा वृद्धाश्रमका महिलालाई नाटक निःशुल्क देखाइएको गौतमले बताए । 

माइला भएर जन्मिएकाले निःशुल्क हेर्न पाउनेछन् । सुकुमवासी बस्तीका बालबालिका र ७० वर्षमाथिका वृद्धवृद्धाले यो नाटक कुनै पनि दिन निःशुल्क हेर्न पाउने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्