ललितपुर एभरेष्ट प्रिमियर लिगको फाइनलमा



काठमाडौं : काठमाडौं किंग्सलाई एक विकेटले हराउँदै ललितपुर पेट्रियट्स एभरेष्ट प्रिमियर लिगको फाइनलमा पुगेको छ । पहिलो क्वालिफायर्समा ललितपुरले काठमाडौंमाथि रोमाञ्चक जित निकालेको हो । 

काठमाडौंका लागि रोहन मुस्ताफाले सबैभन्दा बढी ३२ रन बनाए । अमित श्रेष्ठले ९ रन, सागर पुनले २९ र सिद्धान्त लोहनीले १६ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् । 

बलिङतर्फ ललितपुरका पवन सर्राफले र योगेन्द्रसिंह कार्कीले ३–३ विकेट हात पारे । त्यस्तै, सनी पटेलले २ र ललितनारायण राजवंशीले १ विकेट लिएका  थिए । 

जवाफी ब्याटिङमा उत्रिएको ललितपुरले नौ विकेट गुमाएर खेलको अन्तिम बलमा लक्ष्य भेट्टाएको हो । ओपनर गौरव तमोर एक रनमा आउट भए भने जयकिशन कोल्सावाला सात रनमा पेभेलियन फर्किए । त्यसपछि कप्तान ज्ञानेन्द्र मल्ल २१ तथा पवन सराफ १९ रनमा आउट भए ।

लगत्तै सन्दिप जोरा खाता खोल्न नपाउदै आउट भए । कुशल भुर्तेल २९ रनमा आउट हुँदा ललितपुरको ९१ रनमा सात विकेट गुमेको थियो । अन्तिममा योगेन्द्रसिंह कार्कीले साहसिक ब्याटिङ गर्दै टिमलाई फाइनलमा पुर्‍याए । जसमा उनले अविजीत २८ रन बनाए । 

बलिङतर्फ काठमाडौंका प्रदिप साहु, केभिन ओब्राइन र रोहन मुस्तफाले दुई दुई विकेट लिए । 

अब काठमाडौंले फाइनल प्रवेशका लागि भैरहवा र चितवन विचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्