एक हप्ता भयो बडिमालिकामा बिजुली छैन



मार्तडी : बाजुराको बडिमालिका नगरपालिकामा रहेको त्रिवेणी साना जलविद्युत् केन्द्रको यन्त्रमा खराबी आउँदा एक सातादेखि विद्युत् सेवा अवरुद्ध भएको छ ।

 

त्रिवेणी सहकारी संस्थाले सञ्चालन गर्दै आएको उक्त साना जलविद्युत् एक सातादेखि अवरुद्ध हुँदा विभिन्न कार्यालय, सञ्चारमाध्यमको दैनिक कामकाजमा व्यवधान उत्पन्न भएको छ ।

 

गएको मंसिर २८ गतेबाट विद्युतगृहको यन्त्रको पाटपुर्जा बिग्रिएपछि विद्युत् सेवा अवरुद्ध भएको त्रिवेणी साना जलविद्युत् केन्द्रका निमित्त व्यवस्थापक गणेश शाहीले जानकारी दिए ।

 

उनका अनुसार विद्युतगृह को बेरिङ टुटेपछि सेवा अवरुद्ध भएको बताए । बेरिङ भारतबाट ल्याउन लागेकाले विद्युत् नियमित सञ्चालन हुन अझै एक हप्ता लाग्ने निमित्त व्यवस्थापक शाहीको भनाइ रहेको छ ।

 

 विसं २०४२ मा निर्माण भएको उक्त विद्युत्को यन्त्र नफेरिँदा पटकपटक विद्युत् सेवा अवरुद्ध हुँदै आइरहेको छ । अवरुद्ध यन्त्र बनाउने कार्य भइरहेको त्रिवेणी साना जलविद्युत् केन्द्र बाजुराले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्