खान्छौं तर पच्दैन, त्यसो भए यसो गरौ



रामचन्द्र अधिकारी
दैनिक भोजनमा आलु नखाने विरलै हामी हौँला । गोलभेडाको खाद्य महत्व अति राम्रो भएकोले सबैजसो मानिसले छाकैपिच्छे खाने गरेका हुन्छन् । दूध अनिवार्य खाद्यवस्तुको रूपमा स्थापित भएको छ । पछिल्ला वर्षहरूमा कतिपयको भान्साबाट दूधका परिकारले मासुजन्य खानालाई विस्थापित गरिसकेका छन् । सागलाई पनि स्वास्थ्यकर र अति उपयोगी खानेकुराका रूपमा लिइन्छ । मांसाहारीका लागि मासु नै सबैभन्दा आकर्षक खानेकुरा मानिन्छ, कुनै पनि चाडपर्व र खुसियाली–भोजमा यसैले सबैभन्दा महत्त्वपूर्ण स्थान जमाउँछ ।

उद्योग तथा खुल्ला ठाउँमा पकाइएका र बजारमा बेच्न ल्याइएका खानेकुरामा बालबच्चा निकै आकर्षित भएको पाइन्छ । यी वस्तुले हानि गर्छ भन्ने हेक्का धेरैलाई भइसकेको पनि होला । पोलेको मकैलाई अर्गा्निक तथा स्वास्थ्यकर खाजा मानेर निस्फिक्री खाएको पाइन्छ । कोशेलीपातको नाममा बजारमा पाइने मिठाइहरूले मूल्यवान स्थान पाउँछन् । ऊर्जा दिन्छ, दिमाग उत्साहित बनाउँछ र मुड परिवर्तनगरिदिन्छ भन्दै कफी खाने र यसैको लतमा लागेकाहरू पनि कम नहोलान ।

धेरैजसोलाई हेक्का छैन, यी खानेकुरा पच्दैनन् भनेर । पच्दैनन् भने किन खाने त भन्ने सवालमा पछि चर्चा गरौँला । पहिला यी लगायत थुप्रै खाद्यवस्तु छन्, जुन हामी छाकैपिच्छे खान्छौँ, तर पच्दैनन्, तिनका कारणहरू खोतलौं ।

दूधमा ल्याक्टोज भनिने एक प्रकारको खाद्यतत््व हुन्छ, जसलाई पचाउन ल्याक्टेज (ल्याक्टेज फ्लोरिजिन हाइड्रोलेज) इन्जाइम चाहिन्छ, यो इन्जाइम पाँच वर्षको उमेरपछि अधिकांश मानिसमा हराएर जान्छ । अनि त दूधमा भएको मुख्य खाद्यतत्तत्व ल्याक्टोजचाहिँ पच्दैन । अरु भिटामिन, चिल्लो पदार्थ र खनिज तत्वहरू मात्र पच्ने हुन् । त्यसैगरी रेनिन (काइमोसिन) भनिने अर्को मुख्य इन्जाइम हुन्छ, जसले दूधलाई दहीजस्तो पारी पाचन प्रक्रियामा अघि बढाउँछ । यसले दूधमा भएको केसिनोजिनलाई केसिनमा रूपान्तरण गरिदिन्छ । यो इन्जाइम बच्चाहरूमा मात्र रहन्छ । त्यसैले बच्चाहरूले दूध राम्ररी पचाउँछन्, उनीहरूको प्रमुख खाना नै त्यही हो । तर पाँच वर्ष उमेर कटेपछि विस्तारै यो हराउँदै जान्छ । अनि त दूधमा भएका धेरै पौष्टिक तत्व पचाउन सकिँदैन । बच्चाहरूले चिसो दूध पनि पचाउँछन् । तर ठूला मानिसलाई चिसो दूध, दही या अन्य परिकार नपचेर उल्टै पेट गडबडी हुने, झाडापखाला लाग्ने र ग्यास उत्पन्न हुने समस्या देखापर्छ । रेनिन पाडा, बाछाहरूमा प्रशस्त हुन्छ । त्यसैले उनीहरूले दूध मजाले पचाउँछन् ।

स्तनधारी जनावर (खसी, राँगा, सुँगुर आदि) को मासु छालासहित खाइन्छ भने छालामा भएका धेरै वस्तु हाम्रो शरीरले पचाउन सक्दैन । बाहिरका रौँ जति नै राम्ररी खुर्किए पनि रौँको जरा छालाभित्रसम्म गाडिएकै हुन्छ । ती ठूटाहरू पच्दैनन् । रौँमा केराटिन भनिने वस्तु हुन्छ, जसलाई गलाउने इन्जाइम हामीसँग छैन । यो व्याक्टेरिया र फन्जाइले निकाल्न भने सक्छन् । हामीसँग भएका प्रोटिन पचाउने प्रोटिओजेज इन्जाइमले केराटिन प्रोटिनमाथि कुनै कारबाही गर्न सक्दैनन् । छालामा र त्यसमा रहेका रौँमा मेलानिन भनिने कण हुन्छ, जसले रौँलाई कालो रंग दिएको हुन्छ, त्यो वस्तु पचाउने इन्जाइम मानिसको जीउमा छैन ।

त्यति मात्र होइन, जनावरको शरीरमा प्रवेश गरेको अति नै हानिकारक मानिने निकै गह्रौँ धातु पारो (मर्करी) निश्कासन रौँले गर्ने भएकोले यसका ठुटा भएको वा छालावाला मासु खाएमा पारो पनि खाइन्छ । यसलाई पचाउने सामथ्र्य हामीमा छैन । यसले सिधै मृगौला र दिमागलाई असर गर्छ । रौँमा मात्र होइन, प्वाँखका ठुटाहरू, नंग्राहरूमा पनि केराटिन हुन्छ । मासुमा यस्ता वस्तुको सूक्ष्म मात्रामा भए पनि उपस्थिति हुन्छ नै । रौँले अमाशय र आन्द्राको भित्री भित्ता (म्युकोसा) मा बसेर अरु वस्तुहरू पनि अल्झाउँछन्, अनि पेटमा डल्लो परी बस्छ । यसले पाचन नली पूरै अवरोध गरिदिन्छ ।

मासुसँगै बोसो पनि पूरापुर पच्दैन । यद्यपि बोसोलाई लाइपेज इन्जाइमले फ्याटिएसिड र ग्लिसेरोलमा रूपान्तरण गर्छ । अत– पच्छ, मानौं । तर बोसोले डाइअक्सिन, नाइट्रेटस लगायतका फोहोर र हानिकारक अवयवहरूलाई पनि संरक्षित गरेर राख्ने हुनाले यस्ता वस्तु जीउले पचाउँदैन । बोसोमार्फत यस्ता वस्तु खाइनु स्वास्थ्यमा ठूलो क्षति र्पुयाउनु हो ।

वैज्ञानिकहरूले पुष्टि गरेका छन् कि आलुको बोक्रा, गोलभेडाका बोक्रा, खोर्सानीका बोक्रा पच्दै पच्दैनन् । सागको हरियो भाग, अरु तरकारीका बोक्रा, फलफूलका बोक्रा, मकैका बोक्रा पनि पच्दैनन् । यी चिज हामीले जति केला–कुलाइ गरे पनि खाइनै रहेका हुन्छौँ । यिनीहरूमा सेलुलोज भनिने एक प्रकारको कार्बोहाइड्रेड हुन्छ, जसलाई पचाउन सेलुलेज नामक इन्जाइम चाहिन्छ, त्यो हाम्रो जीउमा छैन । घाँस खाने जनावरहरूमा भने यो प्रशस्तै उत्पादन हुन्छ । गहुँको ब्रान, गेडागुडीका बोक्रा, ल्वाङ, मरिच पनि पच्दैनन् । मरिचको बोक्रा, सूर्यमुखी फूलको बीउ, तिल आदिका बीउ नपच्नेमात्र होइन, यिनमा हुने फाइटिक एसिडले पेट पोल्ने विराम लाग्छ । नरिवलको गुदी, सुख्खा गरिएका फलफूलका चाना, भुइँकटहर, जुसमा भएका फलफूलका अंश (पल्प), बजारमा बनाइएका कति तयारी खानेकुराहरू पनि हाम्रो शरीरले पचाउँदैन ।

त्यति मात्र होइन, डढाएका खानेकुराहरू जस्तै पोलेका मकै, सेकुवा बनाइएको मासु पनि पच्दैनन् । बरु यिनमा हुने डढेका कणहरू क्यान्सर लगाउने विशेषताका हुन्छन् । फलफूलजन्य धेरै खानेकुरामा काइटिन पाइन्छ, तर यो पनि पचाउन सकिन्न । यसलाई पचाउन चाहिने काइटिनेज भनिने इन्जाइम मानिसमा छैन भनिन्छ । पछिल्ला वर्षहरूमा इटालीमा गरिएको एउटा अनुसन्धानले भने अमाशयको औधि अम्लीय माध्यममा काइटिनेज इन्जाइम निस्किएर काम गर्ने कुरा प्रस्ट्याएको भनी एक विज्ञान पत्रिकामा लेख छापिएको छ । पेडोभा विश्वविद्यालयका पेओलेत्ती लगायतले सो अनुसन्धान २००७ मा गरेका थिए ।

हाम्रो शरीरमा एक हजार तीन सय किसिमका इन्जाइमहरू उत्पादन भई काम गरिरहेका छन् । आन्द्राभुँडीका विभिन्न स्थानमा हजारौं प्रकारका अर्बौँको संख्यामा पाचनमा सहयोग गर्ने मित्रजीवहरू पनि छन् । तथापि उल्लेखित वस्तु पच्दैनन् । अनुसन्धानहरूले पुष्टि गरेका छन् कि हामी जति खानेकुरा खान्छौँ, तिनको ४० देखि ६० प्रतिशत पचाएर शक्तिमा बदल्न सक्छौँ । गाई बाख्रा लगायतका घाँसहारीले त २० देखि ४० प्रतिशतमात्र पचाउँछन् भने मांसाहारी जनावरले भने खाएको ९० प्रतिशतसम्म पचाएर शक्तिमा बदल्छन् । मानिसले खाएको २४ देखि ७२ घन्टाभित्रमा नपचेका वस्तुहरू दिसा बनेर बाहिरिइसक्नुपर्ने जैविक नियम छ । यसो भएन भने पाचन नलीमा खराबी र कब्जियतको सुरुआती भन्ने बुझिन्छ ।

यस लेखमा पच्दैनन् भनिएका खाद्यवस्तुहरू हामी महत्वका साथ खाइरहेका हुन्छौँ । किन त ? किनभने यी वस्तुमा भएका केही खाद्यतत्त्व पच्छन् । बाँकी रहेको वस्तु फाइबर हो, त्यसले पाचन नलीभित्र खानेकुरालाई चलायमान बनाई अगाडि बढाउने हो । कतिपय मानिसलाई भने खानाको गति पनि चाहिनेभन्दा द्रुत गरिदिने असरचाहिँ हुन्छ । जस्तै– कसैलाई भुइँकटहर खाने बित्तिकै दिसा लाग्छ । गेडागुडी, फलफूल र यिनका बोक्रा, आलुका बोक्रा, गोलभेडाका बोक्रा, खोर्सानी, मकै आदि रेसायुक्त भएका कारण पाचन नलीमा खानाको यात्रालाई सहयोग गरेका हुन्छन् । फलफूल या भिटामिनयुक्त खानेकुराका अधिकांश भाग नपचे पनि उक्त भिटामिनले अन्य खानेकुरा पाचन गर्न सारथीको भूमिका गरिरहेको हुन्छ । बाँकी चाहिँ हानिबर्द्धक नै हुने ग्याष्ट्रो इन्टेरोलोजिष्टहरूको राय भेटिन्छ ।

खाएको यदि नपचेको हो भने हुलुक्क अम्लीय पानी मुखमा फर्की आउने, पेटमा अपचका लक्षण आउने, नियमित दिसा नहुने, दिसाको मात्रा र आवृत्ति कम या बढी हुने र अन्य अतिरिक्त रोगहरू लाग्ने डर हुन्छ ।

अतस् कुन खानेकुरा आफूलाई पचिरहेको छ कि छैन, आफैँले महसुस गर्ने हो । यदि पचेन भने त्यस्तो खानेकुराबाट सतर्क नै रहनुर्पयो । साथै पच्दै नपच्ने र पचाउन सहयोग पनि नगर्ने खानेकुरा सेवन गर्नु भएन ।

लेखक स्नातकोत्तर क्याम्पस विराटनगरमा प्राणीशास्त्रका उपप्राध्यापक हुन्।

प्रतिक्रिया दिनुहोस्