१३ वर्षीय विद्यार्थीलाई शिक्षकले खुट्टा भाँचिने गरी कुटे



सुर्खेतः दैलेखको पञ्चकोशी क्षेत्र अन्तर्गत नाभिस्थानमामा एक विद्याश्रममा शिक्षकले आफ्नै विद्यार्थीको खुट्टा भाँचिने गरी कुटपिट गरेका छन् । पञ्चकोशी बेद विद्याश्रम गुरुकूल विद्यापीठमा शिक्षकले गरेको कुटपिटको कारण १३ वर्षीय बालक सुरेन्द्र हमालको देब्रे खुट्टा भाँचिएको छ । 

 

हिन्दू धर्म संस्कार, शास्त्रीय कर्मकाण्डबारे अध्यापन गराउन दैलेखको दुल्लू नगरपालिकाले सञ्चालन गरेको गुरुकुल विद्यापीठमा दिइएको पाठ कण्ठ गर्न नसकेको भन्दै शिक्षकले सुरेन्द्रलार्ई कुटेका हुन् । शिक्षक खगेन्द्र बजगाईंले गरेको कुटपिटका कारण बालकको खुट्टा भाँचिएको प्रत्यक्षदर्शी अर्का बालकले बताएका छन् । 

 

संस्कृत श्लोक कण्ठ गर्न नसकेको भनेर मंसिर २६ गते वेदको छडीले मरणासन्न हुनेगरी शिक्षक बजगाईंले कुटे । उनको कुटाइबाट गम्भीर घाइते बालक सुरेन्द्रलाई उपचार गर्न जान नदिई रोकेको अवस्थामा सोमबार त्यही अध्यनरत विद्यार्थी नवराज खनालको सहयोगमा भागेर दुल्लू अस्पताल पुर्‍याएरपछि मात्र घटना सार्वजनिक भएको हो ।

 

    पिडित बालकको दुल्लू अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि नेपालगञ्जको वेष्टर्न अस्पतालमा भर्ना गरिएको छ । आरोपित शिक्षकले अस्पताल प्रशासनसँग मिलेर उनको स्वास्थ्य खास समस्या केही छैन भनी भन्न लगाएको पीडित पक्षको आरोप छ । त्यहाँ संस्कृत सिकाउने नाममा दिनहुँ जसो कुटपिट गर्ने, तुच्छ शब्दले गाली गलौज गर्ने र अपशब्द बोल्ने शिक्षकहरुको दुव्र्यवहारबाट आजित भएका ६ जना बालकहरुले सुरेन्द्रको खुट्टा भाँचिएको पाँचौं दिन एकै साथ गुरुकुल विद्यापीठ छोडेका छन् ।

 

    दुल्लू नगरपालिकाको ४ लाख अनुदान रकमबाट तलबभत्ता खाने गरी नियुक्त गरिएका प्रधानाध्यापक बजगाईं र अर्का शिक्षक दिपक पाण्डे दुबै जना घाइते बच्चाको उपचार गराउन नेपागञ्ज पुगेका छन् । सोमबार घटना सार्वजनिक भएपछि मात्र जानकारी पाएको पञ्चकोशी बेद बिद्याश्रम गुरुकुल विद्यापीठ व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद उपाध्याय र सदस्य सचिव तथा श्रोत व्यक्ति शिवराज खड्कासमेतको उपस्थितिमा पीडित पक्षलाई उजूरी नगर्न आग्रह गरेको बताइएको छ । समितिले यसबारेमा कुनै प्रतिक्रिया दिएको छैन । 

 

त्यहाँ पढ्न चाहनेहरुलाई आवासीय व्यवस्था रहेको गुरुकुल विद्यापीठ सञ्चालन भएको दुई वर्ष अवधिमा दलितहरुलाई भर्ना नदिइएको दलित सेवा संघका केन्द्रीय सदस्य सूर्यबहादुर बिकले टिप्पणी गरे ।

 सुरेन्द्र हमाल कुटिएको विषयमा मुद्दा दिन पीडित पक्षलाई पञ्चकोशी बेदबिद्याश्रम व्यवस्थापन समितिले रोकेको विषयमा सोध्दा अध्यक्ष कृष्णप्रसाद उपाध्यायले उपचार गरेर फर्किएपछि पनि ९० दिनभित्र उजूरी गर्न सकिने म्याद रहेको पहिले उपचारमा जोड दिएको बताए । 

 

प्रतिक्रिया दिनुहोस्