राजपाका उपलब्धिविहीन २८ दिन : दिनगन्ती गर्दै राजेन्द्र महतो



राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको अध्यक्षमण्डल संयोजकबाट महन्थ ठाकुरको बहिर्गमन र संयोजकका रूपमा राजेन्द्र महतोको पदस्थापन एउटा कठिन ‘टास्क’ थियो । जसलाई महतोको अगुवाइमा ठाकुरबाहेक अध्यक्षमण्डलका सबै सदस्यले मूर्त रूप दिए । तर, सतहमा सफलताको मूल जस महतोलाई नै दिइयो ।

 

अन्य सदस्य परिवर्तन यात्रामा थपुवामात्र बनेको अनुभूति नयाँ नेतृत्व खेमाले दिलायो । अर्थात् एकीकृत पार्टीमा अग्लो र शक्तिशाली बन्ने महतोको रहर पूरा भएको दिन तामझामका साथ संयोजक बस्ने कुर्चीको उचाइ बढाइयो ।

 

आफ्नो संसदीयक्षेत्र जनकपुर पुगेका महतोलाई जे पनि हुन सक्ने युद्धका विजेता सरदारका रूपमा विमानस्थलमा स्वागत गरियो । मानौं, संयोजक महतो अर्थात् राजपा ।

 

मंगलबार महतो संयोजक भएको २८ दिन भएको छ । बितेका २८ दिनमा पार्टीका राजनीतिक एवं सांगठनिक गतिविधि ठप्प प्रायः छ । नेताकार्यकर्ता निराश छन्, अझ थकित हुँदै गएका छन् । उनीहरूमा उत्साह र ऊर्जा बढाउन नेतृत्व अक्षम साबित हुँदै गएको आम टिप्पणी छ ।

 

थपिएको एक वर्षभित्र महाधिवेशन गराउन नसकिए पार्टीको वैधानिकता संकटमा पर्ने निश्चितप्रायः भएका बेला महाधिवेशनको तयारीमा कसैले चासो लिएको देखिँदैन । साधारण र सक्रिय सदस्यता वितरण रोकिएको छ ।

 

सत्ता साझेदारी गरेको प्रदेश २ सरकारमा पार्टीको राजनीतिक नियन्त्रण छैन । मन्त्रीहरूको व्यक्तिकेन्द्रित कार्यशैलीमा अंकुश लगाउने संयन्त्र परिचालन गर्न सकिएको छैन । स्थानीय तहका पदाधिकारी स्वतन्त्र र स्वेच्छाचारी ढंगले काम गर्दैछन् ।

 

उनीहरूलाई चुनावताकाको घोषणापत्र र अन्य भाकल स्मरण छैन । उनीहरूलाई यस कुराको हेक्कासमेत दिलाउन सकिएको छैन ।

 

पार्टी केन्द्रीय कार्यालयमा पातलिँदै गएको भीडमा कर्मचारी कोही देखिँदैनन् । कर्मचारी नहुँदा सचिवालयको काम अस्तव्यस्त छ ।

 

राजपा विधानअनुसार, पार्टीका ठूलादेखि साना निर्णयसम्म गर्न अध्यक्षमण्डलको बैठक आवश्यक छ । विधानले जुनसुकै निर्णयका लागि सर्वसम्मत हुनुपर्ने प्रावधान राखेको छ ।

 

विधानमा प्रस्ट तोकिएको व्यवस्थाबाहेक बहुमत र अल्पमतका आधारमा निर्णय गरेर अघि बढ्न सकिने परिकल्पना पार्टीको मौजुदा विधानले गरेको छैन । अर्थात् पार्टी अध्यक्षमण्डल बैठकका लागि संयोजकसहित सबै सदस्यको उपस्थिति सामान्यतया अनिवार्य छ ।

 

पार्टीका महत्वपूर्ण निर्णय लिनैपर्ने समयमा अध्यक्षमण्डलको बैठक एकपटक पनि बसेको छैन । ‘बैठक आज बस्ने, भोलि बस्ने नभए पर्सी त अवश्य बस्ने भन्ने कुरा सुनिन थालेको महतोजी संयोजकको कार्यभार सम्हालेकै दिनदेखि हो ।

 

तर, एक महिना हुन आँट्दा बैठक बसेन,’ राजपाका एक पदाधिकारीले भने । पार्टी महासचिव मनिष सुमनले त महतोको कार्यकालमा बैठक नै बस्ने आशंका गहिरिएको टिप्पणी मंगलबार सामाजिक सञ्जालमार्फत गरेका छन् ।

 

संयोजकका रूपमा महतोको कार्यकाल दुई महिना हो । गत मंसिर ५ मा कार्यभार सम्हालेका उनी माघ ५ गते अध्यक्षमण्डल संयोजकबाट हट्दैछन् । त्यसपछि वरीयताक्रममा रहेका महेन्द्रप्रसाद यादव संयोजक बन्ने हुन् ।

 

अध्यक्षमण्डल बैठक नबस्दा पार्टी सरकारलाई दिएको समर्थन जारी राख्ने वा फिर्ता लिने विषयमा समेत टुंगो लाग्न सकेको छैन । पार्टीका नेताकार्यकर्ता यस विषयलाई अलमलमा छन् र संविधान संशोधन नभए सरकारलाई दिएको समर्थन फिर्ता लिने पार्टी नेतृत्वको प्रतिबद्धता पूरा नभएकोमा खिन्न पनि छन् ।

 

‘सरकारलाई दिएको समर्थनका विषयमा पार्टी अनिर्णित हुँदा जनतामाझ जान आफूहरूलाई निकै गाह्रो भइरहेको छ । तर, यस विषयमा पार्टी नेतृत्व गम्भीर देखिँदैन,’ पार्टीको जिल्ला तहका एक नेताले भने ।


अध्यक्षहरूको चासोहीनता

संयोजक परिवर्तनका लागि निकै गोप्य, गम्भीर र सुक्ष्म गृहकार्य गरेका पार्टी अध्यक्षमण्डल सदस्यहरू बैठक गर्ने विषयप्रति निकै उदासीन देखिएका छन् । छलबलले संयोजकबाट बिदा गरिएका ठाकुर पार्टी कार्यालयमा पुग्ने गरेका छन् तर बैठकमा सहभागी हुने कुरामा अनिच्छा देखाउँदै आएका छन् ।

 

अध्यक्षमण्डल संयोजकको कार्यकाल एकमहिने हुनुपर्ने अडानका कारण दुई महिनामा परिवर्तन हुनेगरी महतो संयोजक बनाइँदा रुष्ट भएका अध्यक्षमण्डल सदस्य अनिलकुमार झाको निरपेक्षता स्वाभाविक नै मानिएको छ ।

 

महतोलाई संयोजक बनाउन न्वारनको बलसमेत लगाएका महेन्द्रलाई भने बैठकसँग कुनै सरोकार छैन । उनी आफू संयोजक हुने माघ ५ पर्खेका छन् । शरत्सिँह भण्डारी चक्रीय प्रणालीमा संयोजक हुने व्यवस्था कार्यान्वयन गरिँदा सबैभन्दा भाग्यमानी नेतामा दरिएका छन् ।

 

पालैपालो संयोजक बन्ने वैधानिक व्यवस्था इमान्दारीका साथ पालना भए पार्टीको आसन्न महाधिवेशनमा उनी अध्यक्षमण्डल संयोजक रहनेछन् । त्यसैले बैठक बस्ने कुरामा उनको पनि सक्रिय सरोकार देखिएको छैन ।

 

राजकिशोर यादव कहाँ छन्, के गर्दैछन् र के सोच्दैछन् भन्ने कुरा नेताकार्यकर्ताले कहिल्यै बुझेनन् । महन्थ ठाकुरलाई राजनीतिक आदर्श मान्ने उनी ठाकुरको सर्वस्वहरणमा सबैभन्दा क्रियाशील देखिए ।

 

अर्थात् अध्यक्षमण्डल बैठकबारे महतोको चासोमा अरूमा खासै चिन्ता देखिएको छैन ।


‘म्यानेज हो गया’

संयोजक भएपछि महतोको अध्यक्षतामा एकपटक पनि अध्यक्षमण्डल बैठक नहुँदा त्यसबारे प्रश्न तेस्र्याउने नेतालाई महतोले बडो मिहिन ढंगले पार्टीभित्रका राजनीतिक व्यवस्थापकीय समस्या बताउने गरेका छन् । उनले नेताकार्यकर्तालाई भन्ने गरेका छन्, ‘ठाकुरजी म्यानेज हो गए हैं, अब बैठक होगा ।’

 

महतोनिकट नेताहरूका अनुसार संयोजक परिवर्तनपछि निकै क्रुद्ध भएका ठाकुरलाई नै सम्झाइबुझाइ गर्न राजेन्द्रको समय खर्च भएको छ ।

 

महतोले दिनपिच्छे ठाकुरलाई सम्पर्क गरेर संयोजक परिवर्तनको खेल गलत भएको स्वीकार गर्दै अब परिवर्तित व्यवस्थाअनुसार पार्टी हाँक्न आफूलाई आशीर्वाद दिनुपर्ने आग्रह गर्दै आएका छन् । उनले आफूसँग नजिक रहेका सञ्चारकर्मीलाई भन्ने गरेका छन्, ‘ठाकुरजी को विश्वास मे ले लिए हैं पर वृषेश(वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लाल) उनको लगातार भडका रहा है ।’


महेन्द्रको दाउ

 

राजनीतिमा राजेन्द्र र महेन्द्र कहिल्यै मिलेनन् । एकअर्काप्रति इष्र्या र द्वेषको भाव राख्ने, कुरा काट्ने क्रममा जस्तासुकै अपशब्द प्रयोग गर्न पनि परहेज नगर्ने प्रवृत्ति दुवैमा विद्यमान थियो ।

राजनीतिक अस्तित्व संकटमा पर्ने भयले दुवैजना एउटै पार्टीमा अटाए पनि उनीहरूबीचको सम्बन्ध कहिल्यै सद्भावपूर्ण रहेन । तर, संयोजक हटाउने खेलमा राजेन्द्र–महेन्द्र जोडी संसारकै अब्बल मित्रका रूपमा देखियो ।

 

जानकारहरूका अनुसार महेन्द्र जसरी पनि पार्टी नेतृत्वमा पुग्न चाहन्थे । जसका लागि उनको बुझाइमा घाँडो रहेका महतोलाई संयोजक बनाउनैपर्ने थियो । र, ठाकुरको राजनीतिकबधमा उनले महतोलाई साथ दिए । अब उनले जसरी भए पनि आफ्नो परम्परागत प्रतिद्वन्द्वी महतो विफल होस् भन्ने चाहेका छन् । त्यसैले अध्यक्षमण्डल बैठकप्रति उनको चासो देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्