दुई करोड ५० लाखको खसीबोका बिक्री



नवलपरासी : नवलपरासी पूर्वनवलपुरमा रहेका दुईवटा सहकारीले मात्रै बडादशैँमा रु दुई करोड ५० लाख बराबरको खसीबोका बिक्री गरेका छन् ।

गएको दश दिनको अवधिमा सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रबाट सो मूल्य बराबरका खसीबोका बिक्री भएको हो । हुप्सेकोट गाउँपालिकाको झ्यालबासस्थित लेकबेँसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दशैँमा मात्रै रु दुई करोड ३० लाखको मूल्य बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले स्थापना गरेको सङ्कलन केन्द्रमा किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको थियो ।

बडादशैँ शुरु भएपछि नवमीसम्ममा एक हजार ७६३ वटा खसीबोका बिक्री गरेको सहकारीका व्यवस्थापक सुशीला परियारले बताउनुभयो । गाउँपालिकाको पहाडी क्षेत्रका किसानबाट सङ्कलित खसीबोका बिक्री गरिएको उनलेले बताए । सङ्कलन भएका खसी बोका स्थानीय बजारसँगै चितवन, पोखरा र काठमाडौँका व्यापारीले खरीद गरेको व्यवस्थापक परियारले बताए । उहाँका अनुसार सबैभन्दा धेरै खसीबोका चितवन निर्यात भएको छ । त्यसपछि पोखरा, काठमाडौं र स्थानीय बजारमा खपत भएको उहाँले बताउनुभयो ।
सहकारीले सामान्य मुनाफा राखेर विगत पाँच वर्षदेखि कृषकबाट सङ्कलित खसीबोका बिक्री गर्दै आएको छ । यसले कृषकले उत्पादन गरेका खसीबोकाले सहजरुपमा बजार प्राप्त गरेका छन् भने मूल्यमा ठगिनबाट जोगिएका छन् ।

नवलपुरको मैनाघाटमा रहेको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीले समेत रु २० लाख बराबरको खसीबोका बिक्री गरेको छ । सहकारीले बडादशैँ लक्षित गरेर थालेको खसीबोका बिक्रीबाट रु २० लाख भित्राएको मैनाघाट सामाजिक उद्यमी महिला सहकारीका अध्यक्ष मञ्जु खनालले बताए।

उहाँका अनुसार सहकारीले जिउँदो खसीको मासु प्रतिकिलोग्राम रु ४६० मा बिक्री गरिएकोे छ । किसानबाट रु ४५० मा खरीद गरी रु १० मात्र मुनाफा राखेर बिक्री वितरण गरिरको सहकारी अध्यक्ष खनालले बताए ।

यस्तै मध्यबिन्दु नगरपालिका–१२, तमासपुरस्थित अरुण ज्योति सामाजिक महिला उद्यमी सहकारीले पनि बडादशैँमा कृषकबाट खसीबोका सङ्कलन गरी बिक्री गरेका छ । सहकारीले सङ्कलन केन्द्र स्थापना गरी कृषकबाट खसीबोका सङ्कलन गरेर बिक्री गर्न थालेसँगै बाख्रापालन गर्ने कृषकलाई बजारीकरणको लागि सहजता भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्