छोरी र श्रीमतिको हत्या गरी आफै गरे आत्महत्या



टहरी : दसैंको टिकाको दिन सुनसरीको इटहरी १७ मा एउटै घरका श्रीमान्, श्रीमती र छोरी मृत अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

श्रीमान् झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती र छोरीको लास बाकस र बोरामा हालिएको भेटिएको हो । घटनाको प्रारम्भिक अनुसन्धानले श्रीमानले श्रीमती र छोरीको हत्या गरेर आफू पनि झुण्डिएको हुनसक्ने देखाएको सुनसरीका प्रहरी प्रमुख यज्ञविनोद पोख्रेलले जानकारी दिएका छन् ।

श्रीमती र छोरीसहित घरमा बस्दै आएका राकेश शर्मा झुण्डिएको अवस्थामा फेला पारेपछि उनलाई आफन्त र छिमेकीले उपचारको लागि धरान स्थित अस्पतालमा पुर्याएका थिए ।

अस्पतालले मृत घोषित गरेपछि फर्काएर लासलाई बेर्न कपडा खोज्नको लागि घरभित्रको टिनको बाकस खोलेर हेर्दा श्रीमती पुनमको लास भेटिएको पोख्रेलले बताए । घरमै ६ वर्षकी छोरी स्वस्तीकाको समेत लास बोरामा हालेर मुख बाँधेको अवस्थामा भेटिएको छ । ‘श्रीमतीको टाउकोमा प्रहार गरेको देखिन्छ भने छोरीको टाउको लुलो अवस्थामा रहेकोले मुन्टो बटारेर मारेको हो कि जस्तो देखिन्छ,’ पोख्रेलले भने ।

लामो समयदेखि राकेश र पुनमबिच घरायसी विवाद रहँदै आएको थियो । उनीहरुको झगडा प्रहरी चौकीसम्म पुगेको थियो । मंगलबार बिहान नहुँदै श्रीमती र छोरीलाई मारेर दिउँसो राकेश झुन्डिए को हुनसक्ने बताइएको छ ।

राकेशका अन्य दुई छोराछोरी भने अलि पर हजुरबाकोमा बस्दै आएका छन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको पोख्रेलले बताए ।

प्रतिक्रिया दिनुहोस्