बडादशैँको शुभकामना छ !



बुनु लामिछाने, साहित्यकार

उन्मत्तताका मद चूर्ण पार्न ,
अन्याय मार्ने जपना उमार्न
सशक्तिका दिव्य घडा भरेर
जुटौँ उज्याला जमरा छरेर !

आघात धोका अनि लूटपाट
फ्याँक्नै छ यो सुन्दर लोकबाट
हओस् यसैको सुरुआत आज !
विपत्तिउन्मुक्त बनोस् समाज !

आलोकका बाधक चण्ड मुण्ड
यो लोकका शुम्भ निशुम्भ दुर्ग
थरी थरी गर्जन डुक्रँदैछन्
छ रे चुनौती विजया कहाँ छिन् ?

सञ्चेतना जीवित छन् छँदा त
जन्मी रहन्छन् तर रक्तबीज
हुदैछ के भूल कहाँ अनर्थ ?
छ बुझ्नु चाँडो अनिवार्य शर्त

लौ हुन्न ! घाती नकसेर बस्न
यौटै दयाको पनि बिन्दु खस्न
मदान्ध मार्ने मद झिक्न खास
अठोट यौटै छ नयाँ निकास

सिञ्ची सबैतर्फ सशक्ति भारी
पस्केर चोखोपनका चिनारी
पुगून सबैमा सुखका मिठास
बडादशैँको शुभकामना छ !!

प्रतिक्रिया दिनुहोस्