सुदूरपश्चिम प्रदेश : मन्त्रालयको काममा कानुन उल्लंघन



कैलाली : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले लोकसेवा तयारी कक्षा सञ्चालनका लागि भन्दै धनगढीमा रहेको निजी संस्था स्टार प्रालिसँग अनियमित तरिकाले सम्झौता गरेको छ । निर्धारित कानुनी प्रक्रिया पूरा नगरी गरिएको सम्झौताको अन्तर्यबारे मन्त्रालयले स्पष्ट पारेको छैन । 

सरकारी सेवाको शाखा अधिकृतको अप्राविधिक पदमा प्रवेश गर्न इच्छुक महिलाका लागि लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने निजी संस्थासँग सम्झौता गरिएको मन्त्रालयको दाबी छ ।

मन्त्रालयले ८० दिने तयारी कक्षाका लागि ३ लाख ९९ हजार ५ सय रुपैयाँको सम्झौता गरेको महिला विकास अधिकृत कमला शाहीले बताइन् । लामो समयदेखि लोकसेवा तयारी कक्षा सञ्चालन गर्दै आएकाले स्टार प्रालिलाई नै कार्यक्रम दिइएको मन्त्रालयको तर्क छ ।

सम्झौताका लागि हतारिएको मन्त्रालयले यसको कार्यविधिमा भने खासै गृहकार्य गरेको देखिँदैन । जसले यो कार्यक्रम स्वच्छ र पारदर्शी हुनेमा आशंका उब्जिएको छ ।

प्रदेश सरकारले लोकसेवा तयारीकक्षाका नाममा बजेट विनियोजन गर्नु र त्यो पनि थोरै संख्यामा मन्त्रालयले छानेका मानिसका लागि मात्रै तयारी कक्षा सञ्चालन गर्न निजी संस्थालाई कार्यक्रम दिनु दुःखको विषय भएको स्थानीयको भनाइ छ ।

मन्त्रालयले कसले र कुन मापदण्डका आधारमा ट्युसन पढ्न पाउने भन्ने विषयलाई महत्व दिएको छैन । जसले पहुँच भएका र आफूनिकट राजनीतिक कार्यकर्ताका लागि मन्त्रालयले यो कार्यक्रम सञ्चालन गर्न लागेको आरोप स्थानीयको छ । कार्यक्रमलाई लिएर सर्वसाधारणको आशंका छ, ‘कतै मन्त्रालयले धमिलो पानीमा माछा मार्न खोजेको त होइन ?’

प्रतिक्रिया दिनुहोस्