प्रचण्डको प्रस्ताव विप्लवद्धारा अस्वीकार



काठमाडौ : चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणको पूर्वसन्ध्यामा सरकारले प्रतिवन्धित विप्लव नेकपालाई कुनै घटना नगराउन सूचना पठाएको छ ।

चिनियाँ राष्ट्रपति सी आउनु अघि र यहाँ बसुन्जेल कुनै घटना नगराउन हाल नक्खु कारागारमा रहेका मध्यकमाण्ड ईन्चार्ज हेमन्तप्रकाश ओली (सुदर्शन) मार्फत नेत्रविक्रम चन्द (विप्लव) को कानमा कुरा पुर्याईएको छ ।

श्रोतका अनुसार विप्लव पनि यो कुरामा सकारात्मक रहेको सन्देश प्राप्त भएको छ । त्यसो त विप्लवलाई वार्ताका लागि नेकपा अध्यक्ष पुष्पकमद दाहाल (प्रचण्ड)ले पठाएको सन्देश विप्लवले अस्वीकार गरेका छन् ।

विप्लवले आफ्नो पार्टीमाथिको प्रतिवन्ध हट्नुपर्ने, आफ्नो पार्टीलाई राजनीतिक दलको हैसियतमा सरकारले औपचारिक पत्र लेख्नुपर्ने र आफ्ना सम्पूर्ण बन्दीहरु विनासर्त रिहा गर्नुपर्ने माग पनि अघि सारेका छन् ।

आफ्ना नेता तथा कार्यकर्ताहरु धमाधम पक्राउ पर्न थालेपछि नयाँ रणनीतिका साथ पार्टी पुर्नगठनमा लागेका महासचिव विप्लवले केन्द्रीय स्तरका सम्पूर्ण कमिटीहरु भंग गरी सबै अधिकार आफ्नै हातमा लिएका छन् ।

केही दिन अघि उपत्यका नजिकै बसेको हाईकमाण्डको बैठकमा विप्लवले प्रचण्डको सन्देश ब्रिफिङ गरेको श्रोतले बताएको छ । बैठकमा विप्लवले आफूले प्रचण्डलाई पठाएको सन्देशको बारेमा पनि बताएका थिए । बैठकमा आफ्ना सर्तहरु पूरा नहुँदासम्म सरकारसँग कुनै संवाद नगर्ने विषयमा छलफल भएको बताईन्छ ।

प्रतिक्रिया दिनुहोस्