१४ रुपैयाँ नाफा राखेर इन्धनमा २ रुपैयाँ मूल्य घट्यो, दैनिक ६ करोड असुलिँदै



काठमाडौं: नेपाल आयल निगमले उच्च दरमा मुनाफा राखेर पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । भारतीय आयल कर्पोरेशन (आइओसी) ले मूल्य घटाएर आइतबार सूची पठाएपछि निगमले पनि मंगलबार राती १२ बजेदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो ।

 

निगमले पेट्रोल, डिजेल र मट्टितेलमा समान २/२ रुपैयाँ घटाएको छ। बुधबार बिहानबाट काठमाडौँ उपत्यकाका उपभोक्ताले पेट्रोल एक सय १० तथा डिजेल र मट्टितेल समान ९७ रुपैयाँ प्रतिलिटरका दरले खरिद गर्न पाउँछन् ।

 

उच्च मूनाफा राखेको कारण आयल निगमलाई एक महिनामै डेढ अर्ब रुपैयाँ नाफा भएको खबर नयाँ पत्रिकामा छ । लिटरमा १३ रुपैयाँ ७१ पैसा नाफा राखेर निगमले इन्धनमा २ रुपैयाँ मात्र मूल्य घटाएको हो। यो नाफाले निगमलाई दैनिक ६ करोड रुपैयाँ मुनाफा हुन्छ ।

 

बुधबारदेखि कायम भएको मूल्यअनुसार निगमलाई पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ७१ पैसा, डिजेलमा ९ रुपैयाँ ८५ पैसा र मट्टितेलमा २५ रुपैयाँ खुद नाफा हुन्छ । यसले इन्धनमा घाटा हुँदा जनतालाई मर्का पर्ने र नाफा हुँदा निगमलाई मात्र फाइदा हुने देखाएको छ ।

प्रतिक्रिया दिनुहोस्