अर्कैको श्रीमतिलाई ताकेपछि मालपोत प्रमुख पक्राउ



कञ्चनपुर : अनैतिक सम्बन्ध राखेको आरोपमा कञ्चनपुरको बेलौरीबाट पक्राउ परेका निजामती कर्मचारी भोज बहादुर ऐडी र स्थानीय विवाहित महिला सञ्जु ढकाललाई १० दिन म्याद थप गरी प्रहरी हिरासतमा राख्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आदेश दिएको छ ।

स्थानीय विवाहित महिला ढकालसँग अवैध यौन सम्बन्ध राखेको फोटो ती महिलाकै मोबाइलमा भेटिएपछि उनका श्रीमानले सोधपुछ गर्दा दुवै जनाले स्वीकारे पछि बुधबार इलाका प्रहरी कार्यालय बेलौरीको टोलीले ढकालकै घरबाट निजामति कर्मचारी र महिलालाई पक्राउ गरेको थियो ।

आज बिहिबार दुवैजनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुर चलान गरी हिरासतमा राखिएको छ । उनीहरु बिरुद्ध सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता बिरुद्धका कसूर अन्तर्गत मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश कुमार आचार्यले जानकारी दिनुभयो । निजामति कर्मचारी भोज बहादुर ऐडीका एक श्रीमती सहित १ छोरा र १ छोरी छन् भने र स्थानीय महिला सञ्जु ढकालका एक श्रीमान् र २ छोरा छन् ।

गतवर्ष दार्चुलाको लेकम गाउँपालिकाबाट कञ्चनपुरको बेलौरी नगरपालिकामा सरुवा भई केही महिना निमित्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा जिम्मेवारी सम्हालेका ऐडीले त्यसपछि मालपोत कार्यालय बेलौरीको प्रमुखको रुपमा काम गरेका थिए । बेलौरी मालपोत कार्यालयबाट सरुवा मिलाई पुनः बेलौरी नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रुपमा ल्याउँदा नगरपालिकामा समेत उनी विवादित बनेका थिए ।

प्रमुख प्रशासकीय अधिकृतका रुपमा उपसचिव छँदाछँदै शाखा अधिकृत स्तरका कर्मचारीलाई जिम्मेवारी दिन खोज्दा झण्डै दुई हप्ता जति नगरपालिकामा समेत विवाद चुलिएको थियो । अन्ततः उनको बैतडी स्थित दशरथचन्द नगरपालिकामा सरुवा भएपनि दशैँ बिदापछि मात्रै जाने भनी रमाना बुझ्न बाँकी नै रहेको बताइएको छ । सेवाग्राहीको काम छिटो, छरितो र बिना रोकटोक गरेर राम्रो कर्मचारीको छवी बनाएका ऐडी अन्ततः अबैध यौनकाण्डमा मुछिएका हुन् ।

“महिलाले आरोप लगाएपछि सोधपुछका लागि नियन्त्रणमा लिएका हौँ ।” इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “घटनाको प्रारम्भिक अनुसन्धान भइरहेको छ ।” उनले मालपोत प्रमुख ऐडीलाई सोधपुछ भइरहेको बताउँदै कुनै खाले जाहेरी नआएको बताए । “अहिलेसम्म मुद्दा दर्ता भएको छैन ।” चन्दले भने, “घटनाबारे सोधपुछकै लागि हामीले महिलालाई पनि नियन्त्रणमा लिएका छौँ ।”

प्रतिक्रिया दिनुहोस्