मेलम्चीमा ठेकेदार हावी, मन्त्रालय भन्छ- ‘काम रोकिँदैन’



काठमाडौं : खानेपानी मन्त्रालयले विकसित परिस्थितिबाट मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य प्रभावित नहुने जनाएको छ । मेलम्चीको हालकै ठेकेदार इटालियन कम्पनी सीएमसीसँग काम जारी राख्ने वा नयाँ ठेक्का गर्ने विकल्पमा छलफल भइरहेको खानेपानी सचिव गजेन्द्र ठाकुरले मंगलबार विज्ञप्ति जारी गरी आश्वस्त हुन आग्रह गरे ।

‘आयोजनाप्रति कहीं कतै आशंका नगर्न र निर्माण कार्यमा नेपाल सरकारलाई आ–आफ्नो स्थानबाट सकारात्मक सुझाव र उत्प्रेरणा प्रदान गर्नु हुन सम्पूर्णमा हार्दिक अपिल गर्दछौं’, विज्ञप्तिमा छ । खानेपानीमन्त्री बिना मगर, सचिव ठाकुर, आयोजना प्रमुख सूर्यप्रकाश कँडेललगायतले केही महिनाभित्र मेलम्चीको पानी काठमाडौं आइपुग्ने सार्वजनिक रूपमै घोषणा गर्दै आएका थिए । 

सीएमसीले भुक्तानी नपाएको कारण देखाउँदै काम रोकेपछि सचिव ठाकुरले ‘आयोजना निर्माण तालिका प्रभावित नहुने’ भन्दै विज्ञप्ति जारी गरेका हुन् ।

मंसिर २७ सम्म भुक्तानी नपाए आफूले काम नगर्ने चेतावनी सीएमसीले मन्त्रालयलाई दिइसकेको थियो । उसले नेपालमा कार्यरत मजदुर, विभिन्न निर्माण सामग्री, यन्त्र उपकरणका आपूर्तिकर्तालाई भुक्तानी दिन नपाएको भन्दै विवाद निरुपण बोर्ड (९डीआरबी) ले तय गरेको ३६ करोड रुपैयाँ तत्काल निकासा गर्न ताकेता गर्दै आएको थियो ।

मन्त्रालय र मेलम्चीले उक्त रकम भुक्तानी गरेनन् । ठेकेदारले साइट छाडी काठमाडौं आएर स्वदेश फर्कन लागेका बेला सरकारले ठेकेदार कम्पनीका कर्मचारीको राहदानी जफत गरेको थियो । भूकम्प र भारतीय नाकाबन्दीका कारण काम गर्न नपाएको भन्दै ठेकेदारले एक अर्ब ६१ करोड रुपैयाँ दाबी गरेको थियो ।

आयोजनाले उक्त दाबी अस्वीकार गरेपछि यो विषय बोर्डमा पुगेको थियो । बोर्डले ३६ करोड रुपैयाँ आयोजनाले तिर्नुपर्ने निर्णय गरेको थियो । बोर्डको उक्त निर्णयका अतिरिक्त ठेकेदारले ६० करोड रुपैयाँको भेरिएसन बिल पेस गरेको आयोजना स्रोतले बतायो । 

बोर्डले तय गरेको ३६ करोड र भेरियसन बापतको रकमसमेत गरी करिब एक अर्ब रुपैयाँ पाउनुपर्ने ठेकेदारको दाबी छ । ठेकेदारले काम थालेको सुरुदेखि हालसम्मको भन्दै उक्त भेरियसन दाबी गरेको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्