राष्ट्रपति सीलाई सोल्टीमा राखिने, नेपाली दाल–भात–तरकारी चखाउने



काठमाडौ : चिनियाँ राष्ट्रपति सी चिनफिङको आगामी शनिबार र आईतबार हुन गैरहेको दुई दिने राजकीय भ्रमणमा महत्वपूर्ण सम्झौता गर्ने सरकारको तयारी छ । चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणको क्रममा रेल, सडक, सुरुङमार्ग, जलविद्युत् परियोजना, प्रसारण लाइनलगायत पूर्वाधारका एक दर्जन बढी एजेन्डामा छलफल गर्ने गरी सरकारले गृहकार्य गरेको छ ।

सीको भ्रमणलाई लक्षित गरेर चिनियाँ उच्चपदस्थ अधिकारीहरु काठमाडौ आउने क्रम चलिरहेको छ । ती उच्चपदस्थ अधिकारीसँगै चिनियाँ राजदूतसँग परराष्ट्र मन्त्रालयले छलफल गरी एजेण्डा तय गरेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

नेपालले चीनले निर्माण गर्ने भनिएको रेलमार्गको डिपिआर सम्बन्धि सम्झौता हुने करिव निश्चित छ । त्यो डिपिआर नेपाली समेतको सहभागितामा चिनियाँ प्राविधिकले नै तयार पार्ने र सबै खर्च उतैबाट व्यहोर्ने गरी सम्झौता गर्ने तयारी सरकारको छ ।

सरकारले राष्ट्रपति सीको बसोबासका लागि होटेल सोल्टीमा प्रबन्ध मिलाएको छ । यसका लागि आवश्यक तयारी भईसकेको छ । राष्ट्रपति सीलाई नेपाली परिकार दाल भात चखाउने तयारी पनि सरकारले गरेको बताईन्छ ।

केही दिन अघि चीनको विदेश मन्त्रालयबाट आएको प्रोटोकल डिभिजन चिफ होङ ली,मेजर जनरल टोङ नी सहितको उच्चस्तरीय टोलीलाई परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले डिल्लिबजार स्थित भोजन गृहमा दिईएको रात्रीभोजमा नेपाली खाना दाल,भात, तरकारी र खसीको मासु सँगै नेपाली सांस्कृतिक नृत्य र झाँकी देखाईएको थियो । यसबाट चिनियाँ टोली औधि खुसी भएका थिए ।

टोलीले राष्ट्रपति सी पनि यस्तो मौलिक संस्कृतिको पारखी भएको सन्देश उक्त रात्री भोजमा दिएपछि सरकारले सीलाई नेपाली खानाको परिकार चखाउने ईच्छा चिनियाँ समक्ष प्रकट गरेको छ ।

उता बेल्ट एन्ड रोड इनिसीएटिभ (बीआरआई) अन्तर्गत चीन सरकारले गर्ने सहयोगका परियाजनाबारे सूची तयार भइरहेको परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिएका हुन् ।

मन्त्री ज्ञवालीले केरुङ–काठमाडौं रेलमार्ग निर्माणको सम्झौता हुने स्पष्ट पार्दै सडक स्तरोन्नतिसँगै टोखादेखि नुवाकोटको छहरे सुरुङमार्ग पनि चीनको प्राथमिकतामा परेको जानकारी दिए । तातोपानी र रसुवागढी नाका स्तरोन्नति, अरनिको राजमार्ग थप व्यवस्थित, राजधानीको चक्रपथको स्तरोन्नति र बाहिरी चक्रपथ निर्माणका विषयमा द्विपक्षीय छलफल हुनेछ । यस अलवा अन्य सहायताको विषयमा पनि छलफल हुने ज्ञवालीले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्