कांग्रेसका सबै पदाधिकारी निर्वाचनबाट, १६१ जनाको कार्यसमिति



काठमाडौं: प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सबै पदाधिकारी निर्वाचनबाट चुनिने भएका छन् ।  संघीय संरचना अनुसार विधान संशोधनका लागि राजधानीमा जारी कांग्रेसको महासमिति बैठकका क्रममा मंगलवार नेताहरूबीच केन्द्रीय पदाधिकारी निर्वाचनबाट छान्ने सहमति भएको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।

 

विधानमा भएको सहमतिअनुसार सभापति, उपसभापति (२), महामन्त्री (२), सह-महामन्त्री (२) निर्वाचनबाट चुनिने छन्। कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यबाट सभापतिले नियुक्त गर्नेछन् ।  निधिका अनुसार केन्द्रीय कार्यसमिति १६१ जनाको रहनेछ। जसमा २० प्रतिशत सभापतिले मनोनीत गर्न पाउने व्यवस्था गरिएको छ । 

 

यस्तै, महासमितिको बैठक २ दिन लम्बिने भएको छ। पुस ४ गतेसम्मका लागि बोलाइएको बैठकको बन्दसत्र ५ र ६ गते केन्द्रीय कार्यालयमा हुने भएको छ। बैठकमा ५ गते विधान पेश गरिने उपसभापति निधिले बताए ।

 

यस्तै, कांग्रेस केन्द्रीय समिति बैठक भोलि दिउँसो १२ बजे बस्ने नागरिकमा खवर छ । बैठकले संशोधित विधान पारित गर्ने निधिको भनाई छ। ‘सबै विधानको प्रस्ताव सर्वसम्मत पारित भएर महासमितिमा आउँछ’, निधिले भने ।

प्रतिक्रिया दिनुहोस्