जेल जानुपर्नेहरू खुलेआम अदालतमा



विराटनगर : नेपाली नागरिकता लिएको कसुरमा मुद्दा चलाइएका भारतीय नागरिक नरेशकुमार साह सोमबार जिल्ला अदालत मोरङ परिसरमा देखापरे । प्रहरीले उनलाई फरार अभियुक्तको सूचीमा राखेर खोजी गरिरहेको छ । फैसला आउने दिन अदालत पुगे पनि उनी पक्राउ परेनन् ।

जिल्ला न्यायाधीश दीपक खनालको इजलासले सोमबारै उनलाई दुई वर्ष कैद सजाय र ७५ हजार जरिवाना फैसला सुनाएको छ । उनले प्राप्त गरेको नागरिकता पनि रद्द भएको फैसला आएको छ । 

तर, उनी मंगलबार पनि अदालतमै झुल्किए । कानुन व्यवसायीसँग आफ्नो मुद्दाबारे सुझाव लिएर बाहिरिएको प्रत्यक्षदर्शीको भनाइ छ । उनका अनुसार अदालतका कर्मचारी र प्रहरीले यसबारे सुइँकोसम्म पाएनन् ।

उनी अदालत पुगेको खबर गरे पनि प्रहरीले पक्राउ नगरेको एक स्थानीयले बताए । ‘उनीहरूले नेपाली नागरिकता लिएको सूचना हामीले दिएपछि प्रहरीले मुद्दा चलाएको थियो’, उनले भने, ‘तर, फरार सूचीमा राखेर खोजी गरिरहेका व्यक्ति खुलेआम डुलघुम गर्दा पनि पक्राउ गरिएको छैन ।’ प्रहरीसँगकै सेटिङमा उनीहरू खुलेआम हिँडडुल गर्न पाएको र अदालतमा पुग्दा पनि पक्राउ नपरेको हुन सक्ने उनको आशंका छ ।

एक कानुन व्यवसायीका अनुसार फरार भनिएका व्यक्ति धेरै पटक अदालत परिसर र वरपर घुमफिर गर्दा पनि प्रहरी र अदालतले पहिचान नगर्नु आश्चर्यको विषय हो । अदालत र प्रहरीले चासो नदिएकै कारण फरार प्रतिवादी खुलेआम हिँडिरहेको उनको भनाइ छ ।

अदालतले नरेशका नाममा २०७४ चैत २८ गते पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई प्रहरीले चैत २ गतेदेखि नै खोजी गरिरहेको थियो । त्यसयता उनी मुद्दाबारे बुझ्न धेरै पटक अदालत पुगेको पाइएको छ । 

उनकी पत्नी रिङ्कीदेवी साह पनि यही मुद्दामा फरार प्रतिवादी हुन् । उनी पनि दुईपटक अदालत पुगेर सहज रूपमै बाहिरिइन् । उनका हकमा पनि न्यायाधीश खनालकै इजलासले सोमबार कैद र जरिवाना फैसला गरेको छ । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्