आफूलाई परिवर्तन गरेर सेवा दिन जरुरी : मुख्यमन्त्री भट्ट



धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अहिलेको युग र आवश्यकतानुसार प्रहरीले आफूलाई परिवर्तन गरेर अपराध रोकथाममा लाग्नुपर्ने बताएका छन् ।

चौँसठ्ठीऔ प्रहरी दिवसका आवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले परिवर्तित व्यवस्थाको वर्तमान परिवेशमा हिजोकै सोच, शैली, व्यवहारले समाजमा शान्तिसुरक्षा र अमनचयनको भरपर्दो व्यवस्था गर्न चुनौती हुने उल्लेख गरे ।

जनताले हिजोको भन्दा फरक तरिकाले सेवा मागिरहेको उल्लेख गर्दै मुख्यमन्त्री भट्टले भने, “प्रहरीलगायत सबैले सकारात्मक सोच र व्यवहारका साथ नयाँ तरिकाले सेवा दिन जरुरी भइसकेको छ ।”

आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाहले प्रदेश सरकार प्रदेश प्रहरी गठनका लागि आवश्यक प्रक्रियामा लागेको जानकारी दिए । सुदूरपश्चिम प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक तारिणीप्रसाद लम्सालले अपराध रोकथाम गरी समाजमा शान्तिसुरक्षा र अमनचयनको व्यवस्था मिलाउन पछि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा डोटी जिल्लामा कार्यरत प्रहरी नायब निरीक्षक लोकेन्द्रसिंह कार्कीलाई यस वर्षको उत्कृष्ट अनुसन्धानकर्ता भएबापत पुरस्कृत गरिएको थियो । यसैगरी विसं २०७५को एसइई परीक्षामा उत्तीर्ण हुने प्रहरीका छोराछोरीहरु अनिसाकुमारी साउद, अनिताकुमारी पन्त, दीपेश भण्डारी र कल्पना साउदलाई पनि पुरस्कृत गरिएको थियो ।

धनगढी उपमहानगरपालिकाका उपप्रमुख सुशीला मिश्र भट्ट, नेपाल पत्रकार महासङ्घका जिल्ला अध्यक्ष जगत साउद, नागरिक समाजका अगुवा डा हेमराज पन्त, पूर्वप्रहरी दलबहादुर बोगटीलगायतले बदलिँदो समाजिक परिवेशमा प्रहरी सङ्गठनले आफ्नो सेवालाई अझ बढी प्रभावकारी बनाउन जरुरी भएकामा जोड दिए । रासस

प्रतिक्रिया दिनुहोस्