के दिदैछन् राष्ट्रपति सीले नेपाललाई ‘बिग सरप्राइज’ ?



काठमाडौ : राष्ट्रपति सी नेपाल आउनु एउटा ऐतिहासिक महत्त्वको कुरा हो। झण्डै २३ वर्षपछि चिनियाँ राष्ट्रपति सी जिनफिङको भोलीदेखि दुई दिन नेपालमा भ्रमण हुँदैछ ।

यसपाली जनवादी गणतन्त्र चीनको ७० औँ स्थापना दिवसकै सेरोफेरोमा भ्रमण हुन लागेको छ। यसबेला चिनियाँ बीआरआईसँग जोडिएका परियोजनाहरूले मूर्त रूप पाउनसक्ने सम्भावना देखिएको छ । यो भ्रमणले नेपाल र चीनबीचको सम्बन्धलाई अझ प्रगाढ र ठूलो उचाइमा लैजाने कुटनीतिज्ञहरुको धारणा छ ।

स्रोतका अनुसार सीका भ्रमणका लागि दुईदेशबीच गर्ने सम्झौतापत्र समेत दुई देशका अधिकारी बसेर तयार पारिसकेका छन् । योसँगै नेपाल सरकारले सी भ्रमणका लागि एघार बुँदे प्रस्ताव अगाडि बढाएको बुझिएको छ ।

गत बुधबार सम्झौतापत्रको मस्यौदा दुई देशका उच्च अधिकारीहरुबीच आदान प्रदान गरिएको छ । परराष्ट्र श्रोतका अनुसार प्रस्तावित मस्यौदामा केरुङ–काठमाडौं रेल मार्ग नै पहिलो प्राथमिकतामा राखिएको छ । गत वर्ष असार पहिलो साता प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका बेला छलफल भइसकेको रेल मार्गलाई नेपाल सरकारले पहिलो प्राथमिकतामा राखेको छ ।

एघार बुँदे मस्यौदामा रसुवागढी–काठमाडौं नाका र सडक स्तरोन्नति, तातोपानी–काठमाडौं नाका र सडक स्तरोन्नति, टोखा–छहरे सुरुङमार्ग निर्माण, मदनभण्डारी विश्वविद्यालय निर्माण समेटिएको छ ।

उत्तर दक्षिण जोड्ने रानी–किमाथांका कोशी करिडोर, सुनौली–कोरला कालीगण्डकी करिडोर र जमुनाहा–हिल्सा कर्णाली करिडोर पनि मस्यौदामा समावेश गरिएको छ । बुधबार राति तयार पारिएको मस्यौदामा तमोर हाइड्रोबारे समेत प्रारम्भिक सहमति भइसकेको छ । यो सँगै साना ठूला गरेर १३ देखि १५ विषयमा सन्धीरसहमति गर्ने तयारी भइरहेको छ । सीको भ्रमणमा हुने यी सहमतिहरू आज आउने चिनियाँ टोलीसँग बसेर अन्तिम टुंगो लगाईने छ ।

मस्यौदामा राखिएका यी सबै बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतका परियोजना हुन् । बीआरआईमा चीन सरकारबाट प्राप्त अनुदान र उपलब्ध गराउने ऋण रकममा बाँकी रकम सम्बन्धित देशले बेहोर्नुपर्ने हुन्छ ।

अहिलेसम्म दुई देशबीच भएको संवादमा चीन सरकारले यस बाहेक ‘बिग सरप्राइज’ दिने तयारी समेत गरेको छ । तर, यसबारे अहिलेसम्म चीन सरकारले केही खुलाएको छैन । तर उच्च श्रोतले राष्ट्रपति सीले रेल मार्ग निर्माणका विषयमा अनुदान कि ऋण भनेर विवाद भईरहेको नेपालमा यसलाई उच्च महत्व दिदै भारी अनुदानमा बनाईदिने सम्झौता गरेर ‘बिग सरप्राइज’ दिने बताएको छ ।

यो भ्रमणमार्फत कतै न कतै यो सन्देश प्रवाह गर्न खाज्दैछ कि नेपालाई उसले गंभीरताका साथ हेरिरहेको छ । त्यसैले रणनीतिक हिसाबले महत्वपूर्ण मानिएको र धेरै महंगो रहेको यो रेलमार्ग निर्माण परियोजनामा चीनले सघाउन ईच्छुक रहँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्