राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले सोध्लान, मितिनी र सोल्टिनीको हालखबर ?



काठमाडौ : दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन बन्यजन्तु संरक्षण कुटनीति अपनाउदै अघि बढाएको नेपालले नेपाल–चीन सम्बन्धलाई दिगो र मजबुत बनाउन आफूसँग उपलब्ध बन्यजन्तु उपहार दिने र संरक्षणमा साझेदारीलाई बढावा दिने भएको छ ।

नेपाल–चीन सम्बन्ध प्रगाढ बनाउन बन्यजन्तु उपहार दिएर चीनसँगको सम्बन्धमा नयाँ आयाम थपिएको छ । विश्वमञ्चमा बन्यजन्तु कुटनीतिका रुपमा बन्यजन्तु उपहार आदान–प्रदानलाई लिईन्छ ।

पूर्वपरराष्ट्र सचिव मदन भट्टराईका अनुसार प्राचिन चीनसँगको सम्बन्ध हेर्दा नेपालका राजा र चीनका बादशाहबीच हरेक पाँच–पाँच वर्षमा यो कोसेली आदान–प्रदान हुने गरेको ईतिहास छ ।
कपी शर्मा ओली प्रधानमन्त्री बनेपछि यो ईतिहासले निरन्तरता पाएको छ । प्रधानमन्त्री ओलीले मितेरी चिनोका रुपमा गत वर्ष दुईजोडी एकसिंगे गैडा चीनलाई पठाएका थिए ।

चीनलाई उपहारका रुपमा पठाईएका ती दुईजोडी एकसिंगे गैडाको नाम भद्र र रुपसी तथा मितिनी र सोल्टिनी राखिएको थियो ।

वनमन्त्रालय श्रोतका अनुसार तिनीहरुले अहिले नेपालमा भन्दा राम्रो वातावरणमा चीनमा स्याहार सुसार पाईरहेका छन् । राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक गोपाल प्रकाश भट्टराई उपहारका रुपमा वन्यजन्तु दिने प्रचलन विश्वमै चलिआएको बताउँछन् ।
महानिर्देशक भट्टराईले शुरुका दिनमा ती गैडाका विषयमा जानकारी आदान प्रदान भए पनि पछिल्ला दिनहरुमा भने आफूलाई जानकारी नभएको बताउँछन् ।

यस विषयमा चिनियाँ राष्ट्रपति सी जिनफिङको नेपाल भ्रमणका क्रममा हुने दुईपक्षीय छलफलमा प्रधानमन्त्री ओलीले ती भद्र र रुपसी तथा मितिनी र सोल्टिनी नामका गैडाहरुको हालखबरका विषयमा सीसँग सोध्लान त भन्ने कौतुहलता वनमन्त्रालय परिसरमा देखिन्छ ।

किनकी प्रधामन्त्री ओलीले पटक–पटक एकसिंगे गैडाका विषयमा विशेष चासो दिदै आएका छन् ।
चीन पठाउँनुअघि ती गैडाहरुलाई कडा र नरम दुबै खालको तालिम दिईएको थियो । हिंस्रक प्रवृत्तिबाट रताएर विशेष तालिम दिई नरम प्रवृत्ति बनाउन दुई महिनासम्म खाल्डोमै राखेर तालिम दिईएको थियो ।

चीनसँगको सम्बन्धको हिसावले ईतिहासकालदेखि नै सहयोगात्मक भावना भएकोले नेपालले ईतिहासलाई निरन्तरता दिदै गैडा पठाइएको महानिर्देशक भट्टराई बताउँछन् ।

वन्यजन्तु र जैविक विविधतामा नेपालसँग चीनले सहयोग र सहकार्य गर्ने उदेश्य र धारणाका साथ गैडा उपहार दिएको बताईन्छ ।

नेपालले सबैभन्दा बढी ६ वटा एकसिंगे गैडा धेरै अगाडी अमेरिकालाई दिएको थियो । त्यसको दुईवर्ष अगाडी सन् १९५० मा ४ वटा गैडा भारतको दुधवा नेशनल पार्कका लागि उपहार दिईएको थियो । भारतलाई दिएको ३३ वर्षपछि नेपालले चीनलाई गैडा उपहार पठाएको हो ।

प्रतिक्रिया दिनुहोस्