तीनतारे जर्नेलको नेतृत्वमा १५ हजार फौज निस्कियो




काठमाडौ : भारतको चेन्नईदेखि सिधै विशेष विमानबाट अपरान्ह ४ बजे काठमाडौ आईपुग्नेगरी तयारी गरिरहेका चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणलाई लक्षित गरेर राजधानी काठमाडौमा आज विहानैदेखि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

दुईदिने राजकीय भ्रमणमा आज आईपुग्ने राष्ट्रपति सीको सुरक्षाका लागि नेपाली सेनाका बलाधिकृत रथी सरद गिरीको नेतृत्वमा आजदेखि १५ हजार सुरक्षाफौज परिचालित भएको छ ।
राष्ट्रपति सीको सुरक्षाको लागि पहिलो घेरामा चीनबाट आएका चिनियाँ जनमुक्ति सेनाका अधिकारीहरु रहने उच्च श्रोतले बताएको छ । सीको कारगेटको दायाँ भागमा जनमुक्ति सेनाले र बाँया भागमा नेपाली सेनाले सुरक्षा दिनेछ । सुरक्षाको दोस्रो घेरामा नेपाल प्रहरी र तेस्रो घेरामा सशस्त्र प्रहरी रहनेगरी सुरक्षा व्यवस्था मिलाईएको छ ।

सशस्त्र प्रहरीले सीको सवारी हुने क्षेत्रको बाह्य सुरक्षा पनि गर्ने गरी व्यवस्था मिलाईएको छ । नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले अति विशिष्ट व्यक्तिको लागि आवश्यक पर्ने सुरक्षा तयारी गरिसकेको बताएका छन् । सीको सुरक्षार्थ नेपाली सेनाका तीनतारे जर्नेल रथी शरद गिरीको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभाग गरी ४ वटा सुरक्षा अंगको संयुक्त टोली क्रियाशील छ ।

नेपाल प्रहरीका तर्फबाट एआईजी पुष्कर कार्कीको नेतृत्वमा विशेष टोली परिचालित छ ।
एआइजी कार्कीले सुरक्षा सम्बन्धि सबै तयारी पूरा भएको बताउदै विदेशी राष्ट्रप्रमुखको भ्रमणको बेला अपनाईने सबै सुरक्षा नीतिहरु अवलम्वन गरिएको जानाएका छन् ।

राष्ट्रपति सीलाई जेड,वाइ,एक्सको सुरक्षा दिनेगरी २२,११,२ रहने विशेष कमाण्डो टोली खटाईने भएको छ । जबकी भारतीय प्रधानमन्त्री मोदी आउदा जेड प्लसको सुरक्षा नीति अवलम्बन गरिएको थियो ।

राष्ट्रपति सीको सवारीको बेला अवाईगस्ती गर्न सेनाले ४ वटा हेलिकप्टर स्ट्याण्डवाई राखेको छ । त्यस्तै सेना प्रहरी र सशस्त्रका कुकुरहरु पनि सवारीका बेला परिचालित गरिने भएको छ भने सेनाले सवारीका बेला एरियल रेकी गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्