राजविराज: सरकारी छाप कीर्ते गरी नक्कली कागजात तयार गर्ने एक जना लेखापढी व्यवसायीलाई प्रहरीले आज पक्राउ गरेको छ ।
प्राप्त सूचनाका आधारमा सप्तरी कञ्चनरुप नगरपालिका–११, गोरपारका ३१ वर्षीय मोहम्मद सल्लम शेखलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।
मालपोत कार्यालयको छाप घरमै राखी विभिन्न किसिमका सरकारी कागजपत्र कीर्ते गर्दै गरेको अवस्थामा उनलाई घरबाटै पक्राउ गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक रिमालका अनुसार घर खानतलासी गर्ने क्रममा विभिन्न व्यक्तिका नेपाली नागरिकताको प्रमाणपत्र, नागरिकताका प्रतिलिपि, सक्कल जन्मदर्ता प्रमाणपत्र, जग्गाधनी दर्ता प्रमाणपत्र, जग्गा रजिस्ट्रेसन लिखत कागज, मतदाता नामावली र फोटो सहितको परिचयपत्र, नागरिकताको अनुसूची फारम, विवाहदर्ताको प्रमाणपत्र, मृत्युदर्ताको प्रमाणपत्र, बसाइँसराइ दर्ताको प्रमाणपत्रलगायत प्याडहरु बरामद गरिएको छ ।
यता पक्राउ परेका शेखलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान थालिएको प्रहरी नायब उपरीक्षक रिमालले भने ।
डुबेर दुई जनाको मृत्यु
पोखरीमा डुबेर आज सप्तरीमा दुई जनाको मृत्यु भएको छ । महदेवा गाउँपालिका–१ स्थित पोखरीमा नुहाउने क्रममा डुबेर स्थानीय हरि सदाको १५ वर्षीया छोरी पुनिता सदाको मृत्यु भएको इलाका प्रहरी कार्यालय, हनुमाननगरले जनाएको छ ।
यस्तै सप्तरी कञ्चनरुप नगरपालिका–१ स्थित पोखरीमा डुबेर भारत सुपोल जिल्ला कुनौलीग्राम पञ्चायत–१८ बथनाह बस्ने अशोक मण्डलका दुई वर्षीय छोरा अर्जुन मण्डल रहेको छ । ठूलो बुबाको घर आएको बेला उनी पोखरीमा खेल्ने क्रममा डुबेको प्रहरीले जनाइएको छ ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाइएको छ ।