प्रदेश तीनमा एक विद्यालय एक नर्स कार्यक्रम



मकवानपुर : प्रदेश ३ मा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम सुरु भएको छ । चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश लोकप्रिय कार्यक्रमअन्तर्गत सामाजिक विकास मन्त्रालयले नयाँ कार्यक्रम सुरु गरेको हो ।

२० विद्यालयका लागि छनोट भएका २० नर्सलाई ललितपुरस्थित पाटन अस्पतालमा तीनदिने सेवा प्रवेश तालिम प्रदान गरी विद्यालयमा पठाइएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख सतिश बिष्टले बताए ।

‘नीति तथा कार्यक्रममा २० नर्सलाई आवद्ध गराउने भनिए पनि धादिङवेशी निलकण्ठ माविमा भने छनोट भएकी नर्सले काम गर्ने इच्छा नदेखाएपछि अर्को नर्स पठाउने पक्रियामा छ’, उनले भने ।

कार्यक्रमलाई पाइलट प्रोजेक्टका रूपमा हेरिएको बताउँदै सामाजिक विकासमन्त्री युवराज दुलालले कार्यक्रम प्रभावकारी देखिएको खण्डमा आगामी वर्षको नीति तथा कार्यक्रममा मन्त्रालयले थप विद्यालय समावेश गर्ने बताए । ‘विद्यार्थीलाई विद्यालय तहबाटै स्वास्थ्यसम्बन्धी जानकारी दिनुका साथै स्वस्थ नागरिक उत्पादन गर्ने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको हो’, उनले भने ।

चालु आर्थिक वर्षमा एक करोड रुपैयाँ विनियोजन गरिएको मन्त्रालयका सचिव दीर्घनारायण पौडेलले बताए । उनले विद्यालयमा खटिएका नर्सले विद्यार्थीलाई शारीरिक र मानसिक रूपमा बलियो बनाउने काम गर्ने बताए ।

नर्सले स्वास्थ्यसँग सम्बन्धित सम्पूर्ण विषयमा विद्यार्थीलाई जानकारी गराउनुका साथै विद्यालय समयमा विद्यार्थीलाई चोटपटक लागेको खण्डमा उपचारसमेत गर्ने उनले बताए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्