यस्तो थियो २३ वर्ष अघि राष्ट्रपति ज्याङ चेमिनको नेपाल भ्रमण



काठमाडौं : चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमण गर्नुहुने चीनको तेस्रो राष्ट्रपतिको रुपमा त्रिभुवन विमानस्थलमा अबको केही घण्टामा पाइला टेक्दै हुनुहुन्छ । २३ वर्षअघि चिनियाँ राष्ट्रपति ज्याङ चेमिनले दुई दिने नेपाल भ्रमण गर्नुभएको थियो । २३ वर्ष अघि चिनियाँ राष्ट्रप्रमुखको हैसियतमा चेमिनले गर्नुभएको नेपाल भ्रमणमा के के भएको थियो त ?

२०५३ मंसिर १९ गते चीनका तात्कालीन राष्ट्रपति ज्याङ चेमिन काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्नुभएको थियो । चेमिनको सम्मानमा उहाँ अवतरण भएकै दिन मंसिर १९ गते नै रात्रीभोजको आयोजना गरिएको थियो ।

रात्री भोजमा चेमिनले शान्ति र स्थिरता कायम राख्न तथा दक्षिण एशिया र अन्तर्राष्ट्रिय मामिलामा सहयोग अभिवृद्धि गर्न नेपालले खेलेको भूमिका सकारात्मक भएको बताउनुभएको थियो । उहाँले नेपालले तात्कालीन अवस्थामा गरेको विकास र सुधारका कामको प्रशंसा गर्नुभएको थियो ।

तात्कालीन राष्ट्रपति चेमिनको भ्रमणको क्रममा नेपालले निजी क्षेत्रलाई संलग्न गराई व्यापार, पर्यटन तथा अन्य क्षेत्रमा संयुक्त लगानीको माध्यमबाट आर्थिक गतिविधिहरू बिस्तार गर्ने प्रस्ताव गरेको थियो । भ्रमणमा चीन र नेपालबीच तत्कालीन राजदरवार हाल नारायणहिटी संग्रहालयमा सम्झौतापत्रमा हस्ताक्षर गरिएको थियो ।

दुईदेशबीचको मैत्रीपूर्ण सम्बन्धको अभिवृद्धि तथा आर्थिक एवं प्राविधिक सहयोग बढाउन चीनले करीब ५६ करोड अनुदान सहयोग उपलब्ध गराउने सम्झौता पत्रमा हस्ताक्षर भएको थियो । सम्झौता पत्रमा नेपालको तर्फबाट तात्कालीन वाणिज्य मन्त्री फत्तेसिंह थारु र चीनको प्रतिनिधित्व गरी वैदेशिक व्यापार तथा आर्थिक सहायता सम्बन्धी मन्त्री ऊ यीले हस्ताक्षर गर्नुभएको थियो ।

उक्त अवसरमा तात्कालीन प्रधानमन्त्री शेर बहादुर देउवा, परराष्ट्रमन्त्री डा।प्रकाशचन्द्र लोहनी, विना विभागीय मन्त्री शरत्सिंह भण्डारी, चीनका लागि नेपाली राजदूत प्रा। युवराजसिंह प्रधान लगायतको उपस्थिति रहेको थियो ।

काठमाडौं महानगरपालिकाका तात्कालीन प्रमुख पी।एल। सिंहले राष्ट्रिय सभामा आयोजित कार्यक्रममा चिनियाँ राष्ट्रपति चेमिनलाई नगरको साँचो बुझाउनुभएको थियो ।

चिनियाँ राष्ट्रपति चेमिनले नेपालको तात्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र तात्कालीन विपक्षी दलका नेता मनमोहन अधिकारीसित भोलीपल्ट शिष्टाचार भेट गर्नुभएको थियो । भ्रमणमा आएको भोलिपल्ट बिहान चेमिन चीनका लागि प्रस्थान गर्नुभएको थियो ।

तात्कालीन राष्ट्रपति चेमिनसँगै भ्रमण दलमा जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री तथा विदेशमन्त्री छियाङ्ग छि, नागरिक मामिला मन्त्री डुओजी कैराङक, वैदेशिक व्यापार तथा आर्थिक सहयोग सम्बन्धी मन्त्री सुश्री ऊ ची तथा स्वशासित क्षेत्र तिब्बतको जन सरकारका अध्यक्ष ग्याल्सेन नोर्बु सहभागी हुनुहुन्थ्यो । गोरखापत्रबाट

प्रतिक्रिया दिनुहोस्