कोजाग्रत वा कौमुदी पूर्णिमा : धनकी देवी महालक्ष्मीको पुजा गरिंदै



काठमाडौं : सबै जातजाती र भाषाभाषीको विविधतामाझ पर्व, पारिवारिक मिलन, सुखदुःख आदानप्रदान तथा सामाजिक सद्भाव नवीकरणसहित कोजाग्रत पूर्णिमामा आज यस वर्षको दसैंको अन्तिम दिन मान्यजनबाट टीका र आशिर्वाद लिइँदै छ । समय मापनका हिसाबले दुर्गा (दसैं)) पक्षको पनि समापन हुँदैछ ।

कोजाग्रत पूर्णिमाका रुपमा मनाइने अश्विन शुक्ल पूर्णिमाको साँझमा सम्पन्नताकी देवी महालक्ष्मीको पुजाआराधना गरिन्छ । श्रद्धालु वा भक्तजन आजको रातभर जाग्राम बसेर महालक्ष्मीसँग धनऐश्वर्यका कामना गर्दछन् ।

रमाइलोसँग मनाइएको दसैंको अन्तिम दिन भएकाले पनि यो दिन दसैंंका नवरात्रीहरुभन्दा कम महत्वको रुपमा लिइँदैन । आजका दिन सम्पन्नताकी देवी महालक्ष्मी पृथ्वी भ्रमणमा निस्किएकी हुन्छिन्, त्यसैले उनको आराधना गर्ने भक्तहरुको घरमा पुगेर उनले आफ्नो पाउ बिसाउँछिन् । धार्मिक मान्यताअनुसार जजस्को घरमा महालक्ष्मीले पाउ बिसाउँछिन्, ती घरहरुमा ऐश्वर्यले बास गर्छ र भक्तजन धनधान्य हुन्छन् ।

यो बढी धार्मिक विश्वासमा आधारित भएपनि यसले सामाजिक मान्यताहरु तथा जनसम्बन्धहरुलाई पनि गाँस्न पुगेको देखिन्छ । दुर्गामाताको त्रिरुपमध्ये महालक्ष्मीलाई धनकी देवीका रुपमा लिइन्छ । भनिन्छ, दसैंमा गरिने हरेक कार्यहरु सम्पन्नताका लागि नै गरिएका हुन् । त्यसैले भक्तजनहरु अन्तिम दिनमा सम्पन्नताकी देवी महालक्ष्मीको पुजाआराधना गरेर समृद्धिको माग गर्दछन् ।

मानिसको जीवनमा निकै महत्वपूर्ण रहेको आर्थिक पक्षले जीवन सुखी वा दुःखी दुवै गराउँछ । जीवन जीउनुको आधार पनि यही नै हो । दसैंको अन्तिम दिन गरिने महालक्ष्मीको पुजा तिहारमा गरिने लक्ष्मी पुजाको ठीक १५ दिन पहिले पर्छ ।

महालक्ष्मी पुजाको दिन आज रातभर जुवा, कौडा, त्रिपासा र तास तथा यस्तैखाले खेलहरु पनि खेलिन्छ । यो रातमा खेलेका जुवाका विभिन्न खेलहरुमा जसले जित हात पार्छ, यसलाई यो वर्षभरि धनलाभ हुन्छ भन्ने विश्वास गरिन्छ । तर यो जुवाको खेल दसैंको नकारात्मक पक्ष हो ।

आजको दिन महालक्ष्मीसँगै ढुंगेहात्तीमा चढेका इन्द्रको पुजा पनि गरिन्छ । ढुंगा स्थिर हुने हुनाले घरमा भएको र वर्षदिनभरि थप प्राप्त हुने धनपैसा खर्च नभई स्थिर भएर ऐश्वर्यका रुपमा रहिरहन्छ भनी विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्