प्रधानमन्त्री ओली र प्रचण्डबीच ३ घण्टा गोप्य वार्ता, मन्त्रीपरिषद हेरफेरको यस्तो छ तयारी



काठमाडौ : सत्तारुढ दल नेकपाका दुई अध्यक्षबीचको वार्ता भर्खरै सकिएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच प्रधानमन्त्रीको सरकारी निवास वबलुवाटारमा सम्पन्न वैठकमा चिनियाँ राष्ट्रपति सी जिनफिङको भ्रमणको समिक्षा,निवर्तमान सभामुख कृष्णबहादुर महराको विषय र सभामुख चयन सम्बन्धि आगामी रणनीति,मन्त्रीपरिषद पुर्नगठन तथा पार्टी एकता प्रकृयाका बाँकी कामहरुका सन्दर्भमा छलफल भएको बताईएको छ ।

आज सामबार बिहान करिव ३ घण्टा लामो वैठकमा सभामुखको चयन र मन्त्रीपरिषदको हेरफेरको सन्दर्भमा गृहकार्य गर्ने सहमति पनि भएको बताईन्छ । त्यस्तै यी एजेण्डाहरुमा छलफल गर्न भोली मंगलबार दिउसो अपरान्ह ४ बजे पार्टी सचिवालयको वैठक बोलाउने पनि दुई अध्यक्षबीच सहमति भएको बताईएको छ । यद्यपी यो सार्वजनिक भने गरिएको छ्रैन ।

प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद हेरफेर गरेर सरकारलाई परिणाममुखी ढंगले अगाडी बढाउन खोजिरहेका छन् । जनजीविका र जनताले अनुभूत गर्ने गरी सरकारले प्रभावकारी ढंगले काम गर्न नसकिरहेको भनदै आलोचना भईरहँदा प्रधानमन्त्री ओलीले आधा दर्जनभन्दा बढी मन्त्रीहरुको कार्यसम्पादन कमजोर भएको भन्दै हटाउन खोजिरहेको श्रोतले बताएको छ ।

यो विषयमा अध्यक्ष प्रचण्डसँग पनि छलफल भईसकेको छ । चिनियाँ राष्ट्रपति सीको भ्रमणका कारणले मन्त्रीपरिषद हेरफेर गर्ने एजेण्डा प्राथमिकतामा परेको थिएन । बालुवाटार श्रोतका अनुसार कार्यसम्पादन सम्झौताअनुसार कार्यसम्पादन गर्न नसक्ने मन्त्रीहरुलाई बिदा दिने मनस्थितिमा प्रधानमन्त्री ओली पुगेका छन् ।

त्यस्तै कार्यसम्पादन सम्झौताअनुसार काम नगर्ने मन्त्रालयका सचिवहरुलाई पनि सरुवा गर्ने तयारी भईरहेको छ । केही समय अघि कार्यसम्पादन सम्झौताअनुसार मन्त्रालयहरुमा काम भएनभएको मूल्याङ्कन गर्न प्रधानमन्त्री ओलीले बोलाएको समिक्षा वैठकमा प्रधानमन्त्री ओलीले कार्यसम्पादन सम्झौताअनुसार काम नगर्ने मन्त्री र सचिवहरुमाथि कारबाही गर्ने कडा चेतावनी दिएका थिए ।

प्रधानमन्त्री ओलीले कार्यसम्पादनमा असक्षम देखिएका मन्त्रीहरुको सूचिमा ८ जनाको नाम रहेको उच्च श्रोतले बताएको छ । तर ती नाम भने बाहिर आएका छैनन् । मन्त्री परिषद हेरफेरसम्बन्धि भोली बस्ने सचिवालयको वैठकमा छलफल भई यससम्बन्धि जिम्मेवारी मूलभूत हिसाबले प्रधानमन्त्रीलाई जिम्मेवारी दिने गरी तयारी भएको छ ।

यसका लागि प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डसँग घनिभूत गृहकार्य गर्ने बताईन्छ । मन्त्रीपरिषद हेरफेर गर्ने विषयमा अध्यक्ष प्रचण्ड पनि सहमत भईसकेको बालुवाटार श्रोतले बताएको छ । तर तिहार अघि गर्ने कि पछि गर्ने भन्ने विषय टुङ्गिन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्