‘निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तत्काल अघि बढाउनू’



काठमाडाैं : राष्ट्रियसभा राष्ट्रिय सरोकार तथा समन्वय समितिले निजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको प्रक्रिया तत्काल अघि बढाउन निर्देशन दिएको छ ।

 

समितिको सोमबार सिंहदरबारमा बसेको बैठकले पछिल्लो समय सर्वाधिक चासोको विषय बनेको निजगढ विमानस्थलको सन्दर्भमा जनस्तरबाट आएको चासो र सरोकारका विषयमा सम्बन्धित परियोजना र मन्त्रालयबाट सही तथ्य र सत्यलाई प्रस्ट पार्दै निर्माणमा ढिलो नगर्न निर्देशन दिएको हो । 

 

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल तोकिएको एक वर्ष भित्रै सम्पन्न गर्नेगरी सञ्चालनमा ल्याउन समितिले सुझावसहित निर्देशन दिएको छ । त्यस्तै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा अधिग्रहण र मुआब्जा वितरण अविलम्ब सम्पन्न गरी निर्धारित समयसीमा भित्रै सम्पन्न गर्न बैठकले आग्रह गरेको छ । 

 

समितिले पशुपति क्षेत्र विकास कोषको सम्पत्ति विवरण भेटीलगायत विषय पारदर्शी ढङ्गले सार्वजनिक गर्न, जग्गा संरक्षण, विद्युतीय शवदाह गृहको प्रभावकारी सञ्चालनमा सम्बन्धित निकायलाई ध्यानाकर्षण गरेको छ ।

 

लुम्बिनी क्षेत्र विकास कोषअन्तर्गत लुम्बिनी गुरुयोजनाको बाँकी काम चाँडो सम्पन्न गर्न तथा पशुपति क्षेत्र विकासको व्यवस्थित गुरुयोजना तयार गरी कार्यान्वयनमा ल्याउन पनि बैठकले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्