सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र



गोरखा: गोरखाको शहीद लखन गाउँपालिका–२ मनकामनाका सुन्तलाखेती गर्दै आएका किसानलाई ‘किसान परिचयपत्र’ वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत परियोजना कार्यान्वयन एकाइ सुन्तला जात फलफूल जोनले व्यावसायिक रुपमा सुन्तला खेती गर्ने किसानलाई परिचयपत्र वितरण थालेको हो ।

 

किसानलाई व्यावसायिक रुपमा खेती गर्न प्रेरणा मिलोस् भन्ने उद्देश्यले परिचयपत्र वितरण गरिएको परियोजनाका प्रमुख अजय अधिकारीले जानकारी दिए । चालू आर्थिक वर्षमा जिल्लाभरका एक हजार दुई सय अमिलो जातका फलफूलको व्यावसायिक खेती गर्दै आएका किसानलाई परिचयपत्र वितरण गर्ने योजना छ ।

 

“सुन्तला जोन क्षेत्रभित्रका सबै किसानलाई परिचयपत्र वितरण गर्ने तयारी गरेका छौं”, उनले भने । परिचयपत्र लिन किसानले निवेदनसँगै दुईप्रति फोटो, नागरिकताको फोटोकपी र लालपुर्जाको फोटोकपी बुझाउनुपर्ने व्यवस्था गरिएको छ । परिचयपत्र लिन चाहने किसानले कम्तीमा २० बोट सुन्तला, अमिलो, कागती वा अमिलोजातका फलफूल खेती गरेको हुनुपर्ने परियोजनाका सञ्चालक समितिका संयोजक धुव्रप्रसाद खनालले जानकारी दिए । 

 

परिचयमार्फत किसानले बारीमा लगाएका सुन्तलाको बोटको सङ्ख्या, उत्पादन भइरहेको बोटको सङ्ख्या र हुर्कँदै गरेको सुन्तलाको बोटको जानकारी लिन सकिनेछ ।  “परिचयपत्र वितरणपछि किसानलाई उपलब्ध गराइने अनुदानलाई व्यवस्थित गर्न सहज हुनेछ,” उनले भने ।

प्रतिक्रिया दिनुहोस्