किवी खेतीमा कृषक



पर्वत : पर्वतको जलजला गाउँपालिकामा किवी खेती विस्तार गर्न स्थानीयवासी सक्रिय छन् । जलजला–५ लेखफाँटका बासिन्दा किवी खेतीमा लागेका हुन् । स्थानीयवासी यज्ञप्रसाद सुवेदीले २०७१ सालमा किवी रोपेपछि गाउँभरिमा अहिले व्यावसायिक खेती विस्तार गर्नेको बढेका छन् ।

सुवेदीसहित कृष्णबहादुर रन्तिजा, प्रेम पुन, नरबहादुर पुन, बनबडेका हर्कबहादुर पुन, लेखबहादुर फगामीसहित ५० परिवारले किवी खेती गर्न थालेका हुन् । एक पटक लगाएपछि करीब ४० वर्षसम्म निरन्तर आम्दानी दिने किवीको बजार मूल्य पनि उच्च छ । प्रतिकिलो रु अढाई सयदेखि छसय रुपैयाँसम्ममा बिक्री हुने किसान बताउँछन् ।

किसानले हेवाड, रेड, आलिसन र बुर्नो गरी चार जातका किवी लगाएका छन् । कृष्णबहादुर रन्तिजाले पनि पाँच रोपनीमा किवी लगाएकाm छन्। विसं २०६९ देखि व्यावसायिक खेती गर्दै आएका रन्तिजाले बर्सेनी रु चारदेखि पाँच लाख आम्दानी गर्दै आएको बताए। पछिल्लो समय जलजलाको बाँसखर्क, शालिजा, लेखफाँटमा किवीको क्षेत्रफल विस्तार हुँदै गएको कृषिज्ञान केन्द्र पर्वतले जनाएको छ ।

बाँसखर्कमा सोमबहादुर तिलिजा, सालिजामा हेमबहादुर पुन, मायादेवी रेग्मी, पूर्णहरि रेग्मी लगायतले किवीको व्यावसायिक खेती गर्छन्। सात वर्षमा जलजलामा मात्रै ५० हजार बिरुवा खपत भएको कृषिज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले जानकारी दिए। रेग्मीले मानव शरीरलाई धेरै पौष्टिक तत्व दिने भएकाले किवीको मूल्य र बजारमा माग बढ्दै गइरहेको उनले बताए।

किवीको नियमित प्रयोगले उच्च रक्तचाप रोक्नाका साथै ज्यान फुर्तिलो बनाउने, मुटुरोगी लगायतका लागि फाइदा पुग्ने उनले बताए। जलजला गाउँपालिकाले किवीको व्यावसायिक खेती गर्ने किसानलाई अघिल्लो वर्षदेखि सहयोग गर्दै आएको छ । किवीको सम्भावना राम्रो भएकाले गाउँपालिकाले प्रोत्साहन गर्ने नीतिअनुसार सहयोग गरिरहेको गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्लले बताए।

यस्तै मोदी गाउँपालिकाको चित्रे, राम्जा र भुकदेउराली, महाशिला गाउँपालिकाको फलामखानी र भोक्सिङ, कुश्मा नगरपालिकाको दुर्लुङ लगायतका ठाउँमा पनि व्यावसायिक किवीको विस्तार हुन थालेको छ । – रासस

प्रतिक्रिया दिनुहोस्