पढाइ छाडेका बालिका पुनः विद्यालयमा



बाँके : मध्यान्तरको समयमा एक हुल किशोरी चउरमा जम्मा भए । स–साना बालिकाहरु आ–आफ्नै सुरमा खेल खेल्न मग्न थिए । केही बालिका आकाशे रङको कमिजमा थिए त केही कुर्तामा । यी बालिकामध्ये केहीले सामान्य फित्तावाल चप्पल लगाएका थिए । बाँकीका खुट्टा खाली थिए ।

उनीहरुको अवस्था हेरेरै अभिभावकको आयस्तर न्यून रहेको अनुमान लगाउन सकिन्थ्यो । नेपालगञ्जको सल्यानी बङ्गलामा रहेको आधारभूत छात्रा विद्यालयको अवस्था हो यो । नेपालगञ्ज मधेशी र मुस्लिम समुदायको बाक्लो बसोबास भएको ठाउँ हो । यहाँका धनी परीवारले बालबालिकालाई निजी विद्यालयमा पढाउँछन् ।

आयस्तर न्यून भएका अभिभावकको छनोटमा सरकारी विद्यालय पर्ने गर्छ । तर, कतिपय अभिभावक आफ्ना बालबालिकालाई सरकारी विद्यालय पठाउन पनि समर्थ छैन । बालबालिकाले नै श्रम गर्नुपर्ने अवस्था छ । नेपालगञ्जमा मात्र करीब दुई हजार ५०० बालबालिका श्रममा रहेको एक तथ्याङ्क छ ।

सरकारी विद्यालयको विद्यालय पोशाक र किताब कापी किन्न नसक्ने भएकै कारण पनि कतिपय अभिभावक विद्यालय पठाउन नसक्ने अवस्थामा छ । अझ मधेशी र मुस्लिम समुदायले उच्च शिक्षाका लागि छोरीलाई कम प्रोत्साहन गर्ने गरेको पाइएको छ ।

छोरीलाई अर्काको घरमा जाने, केटा भएको विद्यालयमा पढाउँदा सानैमा भागेर विवाह गर्ने, अन्तरजातीय विवाह गरिदिने, प्रेम गर्ने डरका कारण विद्यालय नपठाउने गरेको अभिभावकहरु स्वयं बताउँछन् । धेरै बालिका शिक्षाको पहुँचबाट टाढा रहेको तथ्यलाई ध्यानमा राखेर नेपालगञ्ज उपमहानगरपालिकाले वडा नं ४, सल्यानीवागमा छात्रा विद्यालय सञ्ञ्चालनमा ल्याएको हो ।

यो यहाँको दोस्रो छात्रा विद्यालय हो । यसअघि सरस्वती माविमा छात्रा विद्यालय सञ्चालनमा ल्याइएको हो । मधेशी तथा मुस्लिम छात्राहरुको शिक्षामा पहुँच पु¥याउन यही शैक्षिक सत्रदेखि सल्यानी बङ्गलामा छात्रा विद्यालय सञ्चालनमा ल्याइएको नेपालगञ्जका मेयर डा धवलशम्शेर राणाले बताए ।

अभिभावकको इच्छा अनुसार छोरीहरुलाई पढ्ने अवसर छात्रा विद्यालयमा भएको उहाँले बताउनुभयो । छात्रा मात्र अध्ययन गर्न पाउने गरी विद्यालय सञ्चालनमा आएपछि यहाँका मधेशी र मुस्लिम समुदायले पनि छोरी पढ्न पठाउन थालेका छन् । बाहिरी जिल्लाबाट नेपालगञ्ज झरेका, मजदूरी गरी जीवन चलाइआएका, आर्थिक स्थिति कमजोर भएका परिवारले पनि त्यहाँ छोरीलाई भर्ना गरेका छन् ।

पढाइ छोडेका पनि पुनः भर्ना

नेपालगञ्जकी २६ वर्षीया रविना राई छात्रा विद्यालयमा अध्ययनरत ४ वर्षीया छोरी लिन आएको अवस्थामा भेटिए। कालो बुर्काले अनुहार छोपेर आएकी उनले आर्थिक अवस्था कमजोर भएकाले छोरीलाई यहाँ निःशुल्क भर्ना गराएको बताए।

यहाँका मधेशी र मुस्लिम समुदायका अभिभावकहरु छोरी बिग्रने र उनीहरु असुरक्षित हुने डरले विद्यालय पठाउन चाहँदैनन् तर, छात्रा विद्यालय खुलेपछि सहज भएको अनुभव उनीहरुले गरिरहेका छन् । अर्का अभिभावक नजीर रहमान मधेशी तथा मुस्लिम समुदायमा छोरीहरु पढाउन पठाउन नमान्ने संस्कार अझै रहे पनि छात्रा विद्यालय खुलेपछि सहज भएको बताए।

केटाहरु पढ्ने विद्यालयमा छोरीहरुले भागेर विवाह गर्ने, चाँडै विवाह गर्ने, केटाहरुले जिस्काउने चिन्ता अभिभावकमा छ । छोरीको पढाइ छुटेकाहरु पनि छात्रा विद्यालय खुलेपछि विद्यालय पठाउन थालेको स्थानीयवासी राविया शाहीले बताए । उनले पनि छोरी यसै विद्यालयमा पढाइरहेका छन्।

कक्षा ७ मा अध्ययनरत छात्रा रोशनी हलवाईले पनि पुनः पढाइलाई निरन्तरता दिएका छन्। छात्रा विद्यालय बन्नुका साथै उर्दू भाषामा पनि पढाइ हुने भएकाले पुनः विद्यालयमा पढाइ शुरु गरेको उनले बताए ।मुस्लिम समुदायमा नमाज पढ्न उर्दू भाषा आवश्यक छ ।

निःशुल्क पढ्न पाइनाका साथै उर्दू भाषामा पनि पढाइ हुने भएपछि मुस्लिम समुदायले छोरीहरु अध्ययनका लागि छात्रा विद्यालयमा पढाउन थालेको उर्दू भाषा पढाउने शिक्षक आरविदा जमाल बताउछन्। – रासस

प्रतिक्रिया दिनुहोस्