डेढ वर्षदेखि बन्धक बनाइएकी महिलाको गाउँपालिकाद्वारा उद्धार



खोटाङ: डेढ वर्षदेखि बन्धक बनाएर राखिएकी दिप्रुङ चुइचुम्मा गाउँपालिका–६ छितापोखरीकी ३३ वर्षीया रमिला तामाङको मङ्गलबार गाउँपालिकाले उद्धार गरेको छ । विसं २०७४ असार १४ गतेदेखि मानसिक सन्तुलन गुमाएको आरोपमा बन्धक बनाएर राखिएकी तामाङलाई श्रीमान्सँगै थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

 

विवाहबन्धनमा बाँधिएको सात वर्षपछि मानसिक सन्तुलन गुमाएको भन्दै उनलाई बन्धक बनाइएको हो । तामाङलाई गाउँपालिकाका अध्यक्ष भुपेन्द्र राईले प्रहरीको सहयोगमा उद्धार गरेका हुन् । ‘तामाङको अवस्था हेर्दा उनलाई बन्धक बनाउनुपर्ने कारण देखिँदैन,’ अध्यक्ष राईले भने ।

 

काठको टाँड बनाएर चारैतिर जाली राखेको अवस्थामा तामाङलाई उद्धार गरिएको हो। तामाङको उपचार गाउँपालिकाले गर्ने गरी उद्धार गरिएको हो । उनको उपचार धरानमा सम्भव नभएपछि घरमा ल्याई बन्धक बनाइएको तामाङका छिमेकीले बताएका छन् ।

 

तामाङको उपचारका लागि तत्काल रु १० हजार सहयोग गरिएको अध्यक्ष राइले बताए। तामाङका एक छोरी र एक छोरा छन्। तामाङका श्रीमान् खेती किसानी गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्